जन सरोकार

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकबीच सहकार्य

केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने

नेपालका अस्पतालका जन्म केन्द्रमा नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध गराउने विषयमा ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सहमति भएको छ । केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने सहमति गरिएको हो ।

विकास बैंकको १३औँ वार्षिकोत्सवका अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैैैंक तथा केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनबीच सहमतिपत्र आदानप्रदान भयो । बैंकको संस्थागत सार्वजनिक जिम्मेवारीअनुसार हाम्रो विकास प्रवद्र्धन कोषमार्फत आर्थिक वर्ष २०७६/७७ मा न्यानो नानी परियोजनाको पहिलो चरण सम्पन्न भएको थियो ।

पहिलो चरणमा मध्यबिन्दु जिल्ला अस्पताल, कपिलवस्तु सामुदायिक अस्पताल, प्युठान अस्पताल, महाकाली अस्पताल, रामगोपालपुर स्वास्थ्य केन्द्र, आम्दा अस्पताल, खोटाङ जिल्ला अस्पताल, सामरी स्वास्थ्य केन्द्र, बेनी अस्पताल तथा बुर्तिबाङ अस्पताल गरी १० वटा अस्पतालमा न्यानो नानी उपकरण जडान भइसकेको छ भने त्यसबाट ३०० बढी नवजात शिशुले सुविधा प्राप्त गरेको जानकारी बैंकले दिएको छ ।

पहिलो चरणमा भन्दा नयाँ उपकरण अझै थप सुविधायुक्त हुने र थप अस्पतालमा समेत जडान गरिने जानकारी डा पुनले दिनुभयो । बैंकले सन् २०२३ सम्म नेपालका आधाभन्दा बढी अर्थात् ८०० जन्म केन्द्रमा यस्तो उपकरण स्थापना गर्ने योजना बनाएको छ । डा पुनले केन्द्रलाई नेपालमा अनुसन्धानमार्फत उद्यमी सिर्जना गर्ने र त्यसैमार्फत देशको उत्पादनशील समृद्धि र विकास प्रवद्र्धन गर्ने कार्य अगाडि बढाउन क्रियाशील बनाइएको बताउँदै यस्तो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

बैंकका अध्यक्ष हरिप्रसादले बैंकका नयाँ सेवा ‘परिवर्तनकारी कर्जा’, ‘स्मार्ट सेभिङ’ र ‘कन्याक्टलेस कार्ड’ उद्घाटन गर्दै यी सेवा नेपालका छरिएर बसेका र बैंकका सरल पहुँचप्राप्त गर्न नसकेका उद्यमीका लागि अगाडि बढाइएको जानकारी दिनुभयो ।

बैंकका पूर्वअध्यक्ष हरिचन्द्र खड्काले बैंकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिनुभयो र पूर्वअध्यक्ष ध्रुवकुमार भट्टराई तथा ध्रुव उप्रेतीले हाम्रो विकास बैंक, झिमरुक बैंक तथा रापती भेरी बैंक गाभेर बनेको यस बैंकका शेयरधनीले वर्तमान अवस्थामा आफ्नो लगानी उठाउन सक्ने अवस्था भई उनीहरूको पूर्व लगानी नाफामा परिणत भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकको आउँदो वर्षको योजनाबारे जानकारी दिनुभयो भने नायब कार्यकारी अधिकृत पारस कँडेले नेपाली उद्यमी तथा उद्यमशीलताको विकासमा बैंक अझै दृढ रहने उनीहरूलाई सहयोग गर्न नयाँ कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.