राजनीति

गाउँपालिकाको अध्यक्षमा जित्नका लागि रु १० करोड ?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीका कारण श्रमजीवी जनता र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल हुँदै गएको बताउनुभएको छ ।

गाउँपालिकाको अध्यक्षमा जित्नका लागि रु १० करोड बराबरको खर्च भएको विवरण सार्वजनिक भएको सन्दर्भ जोड्दै उहाँले सङ्घीय निर्वाचन जित्नका लागि अर्ब बराबरको खर्च हुने अवस्था देखिएको उहाँको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन प्रणाली र शासकीय प्रणालीका कारण भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।

संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेको भए पनि त्यसविरुद्ध केही तत्वले जेहाद छेडेको र सङ्घीयता विरुद्ध उभिने धृष्टता गरेको देखिएको उहाँले बताउनुभयो । धेरै पैसा खर्च सकेन भने वा अनेकन तिकडम नगरे निर्वाचन जित्न नसक्ने अवस्था सिर्जना भएको अध्यक्ष दाहालको भनाइ छ ।

उहाँले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । उहाँले गठबन्धनभित्र पनि साझा मत बनाएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले जनतासँग जोडिएर विगतमा गरिएका राम्रा काम र वर्तमान सरकारमा रहेर गरेका जनपक्षीय कामबारे जानकारी गराउन पार्टीका सबै नेता तथा कार्यकर्ता प्रतिबद्ध भएर लाग्न अध्यक्ष दाहालले निर्देशन दिनुभयो ।

शिक्षा, स्वास्थ्य रोजगारी, विद्युतीकरणका सन्दर्भमा गरिएका प्रयास माओवादीकै योजनामा अगाडि बढेको जानकारी दिँदै उहाँले त्यसका बारेमा जनतालाई जानकारी गराउन आग्रह गर्नुभयो । विचार, आर्दश र योजनाका साथ आगामी सङ्घर्षमा जीत हासिल गर्नुपर्ने उहाँको भनाइ छ ।

विचार क्रान्तिकारी भएर मात्रै नहुने स्पष्ट पार्दै उहाँले सोही आधारमा सङ्गठन र जीवन व्यवहारमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले प्राप्त भएको परिवर्तनको रक्षा गर्दै थप उपलब्धीका लागि अगाडि बढ्न सक्छौं वा सक्दैनौँ भन्ने विषय नै आजको प्रमुख आवश्यकता रहेको धारणा राख्नुभयो ।

कम्युनिष्ट आन्दोलन र आफ्नै पार्टीभित्र पनि विभिन्न खालका विचलन देखा परेको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध निरन्तर लड्नुपर्नेमा अध्यक्ष प्रचण्डलेजोड दिनुभयो ।

विगतमा क्रान्तिकारी बन्ने प्रतिस्पर्धा हुने गरेको तथ्य पेश गर्दै उहाँले यतिबेला चरम व्यक्तिवाद हावी हुन थालेको र त्यसविरुद्ध निरन्तर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

सरलता, पारदर्शिता र निष्ठाको हिसाबले कर्माचार्य जीवन पर्यन्त क्रान्ति र पार्टीप्रति निष्ठाबान रहेको उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले विचार, सिद्धान्त र दृष्टिकोणका आधारमा संस्थापक नेता कर्माचार्यले अबलम्बन गर्नुभएको आदर्शलाई पछ्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.