अर्थ

भारतबाट अवैध रुपमा कुखुरा आयातले व्यवसायी मर्कामा

मासु र अण्डामा मुलुक आत्मनिर्भर रहे पनि बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन् ।

नेपाल—भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा कुखुरा सीमा क्षेत्रबाट दिनहुँजसो प्रहरीले बरामत गर्नाका साथै त्यसमा संलग्न भएको आशङ्कामा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो ।

बाँकेमा करिब ५०० पोल्ट्री व्यवसाय रहेको र त्यसबाट मासिक तीन लाख चल्ला उत्पादन हुँदै आएको छ । जिल्लामा करिब रु १५ करोड पोल्ट्री व्यवसायमा लगानी रहेको छ ।

भारतबाट अवैधरुपमा आयात भएको कुखुराका कारण पोल्ट्री व्यवसायीमा गरेको लगानी डुब्ने अवस्थामा पुगेको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष ईश्वर सुवेदीले बताउनुभयो ।

भारतीय कुखुराका कारण नेपाली व्यवसायी मारमा परेको उल्लेख गर्दै उहाँले अवैधरुपले कुखुराको आयात नरोकिए व्यवसाय बन्द गर्ने चेतावनी दिनुभयो ।

‘‘भएका कुखुराको बजार राम्रो छैन, त्यसैमा पनि अवैधरुपले भारतीय कुखुरा आयातले हामी व्यवसायीलाई ठूलो चेपुवा पारेको छ’’ उहाँले भन्नुभयो ।

नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्ब लगानी रहेको छ । यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान गरेको र यसबाट आठ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रवीन पुरीले बाँकेका नाकाबाट अवैध रुपमा भित्रिने कुखुराको मासु काठमाडौँसम्म पुगेको र यसले बजारमा प्रत्यक्ष असर गरेकाले नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको बताउनुभयो ।

‘‘हामी मासु र अण्डामा पूर्णरुपमा आत्मनिर्भर छौं तर नाकाबाट गैरकानुनी रुपमा कुखुराको मासु आउदा हामी मारमा परेका छौँ’’ उहाँले भन्नुभयो, ‘‘भारतमा अहिले बर्डफ्लु भएको र त्यसको सङ्क्रमण यहाँ पनि फैलने भएकाले तत्काल कुखुराको अवैध आयात रोक्नु पर्छ।’’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कुखुराको अवैध आयात रोक्न सक्दो प्रयास गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.