बिचार

देशैभर स्वतन्त्रहरुले झण्डा गाडे आश्चर्य नमानौं

बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणालीमा राजनीतिक दलहरुको भूमिका नै सबभन्दा महत्वपूर्ण हुन्छ । मुलुकलाई समृद्ध बनाउने कि कङ्गाल बनाउने ? राष्ट्रिय स्वाभिमान उच्च राख्ने कि अरुको पाऊमा सुम्पने ? यसको जिम्मदार दलका नेताहरु नै हुन्छन् ।

नेपालको हकमा राजनीतिक दल र तिनका नेताहरुको भूमिका व्यवस्था परिवर्तनका लागि जति सकारात्मक रह्यो सत्रामा पुगेपछि उति नै विवादास्पद रह्यो । पछिल्लो समय नागरिकता विधेयक जुन रुपमा पारित भयो यो पछिल्लो दृष्टान्त हो । यसअघि एमसीसी पारित हुनु, यसैको उपजका रुपमा एसपीपी अघि आउनु र सरकारले एसपीपी सम्झौता नगर्ने घोषणा गरे पनि अमेरिकालाई पत्राचार नगर्नु, पत्राचार गर्ने हैसियत आफूहरुसंग नरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले भन्नु देशको सार्वभौमिकता गुमेको यथेष्ट संकेत हो ।

देशको तीनै तहको शासन प्रणालीमा दलहरुको हालीमुहाली रहनु स्वाभाविक हो । तर, उनीहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको पनि अर्को सत्य विषय हो । अभूतपूर्व राजनीतिक परिवर्तनमा संवाहक शक्तिका रुपमा रहेका राजनीतिक दलका नेताहरु सत्तामा पुगेपछि बदनाम हुने र बनाउने, बनाइने प्रवृत्तिले देशको राजनीतिक धार मोडिने संकेत सम्पन्न स्थानीय तहको निर्वाचनले पनि दिएको छ ।

अहिले उच्च राजनीतिक नेतृत्वप्रति आम जनताको आक्रोश छ । तर यसबीचमा केही यस्ता पात्रहरु जन्मिएका छन्, जो दिनरात जनताको सेवामा खटिइरहेका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनपछि काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुले जुन रुपमा विजय प्राप्त गरे र छोटै समयमा उनीहरुले जसरी जनताको काम गर्न खोजिरहेका छन् । यसबाट जनतामा व्यापक सन्तुष्टि र आशाको किरण झुल्किन थालेको छ ।

धरानका मेयर हर्क साम्पाङ राई दिनरात सरकारी सुविधा समेत नलिएर जनताको सेवामा तल्लिन छन् । दशौं वर्षदेखि अधुरो रहेको खानेपानीको काम उनले आफैं श्रमदान गरेर, जनतालाई गुहारेर एक महिनामा सम्पन्न गरिदिए । सडकमा फालिएको फोहर आफैं उठाउँदै हिंड्छन् । कामचोर कर्मचारीको सातो खान्छन्, राजनीतिक दलको फूइँ लगाउने वडाध्यक्षहरुको सातो लिन्छन् । काम गर्न नदिने र नसक्ने भए पद त्याग्न चेतावनी दिन्छन् । आफ्नो सुविधाको गाडी बेचेर सडक सम्याउने उपकरण किन्छन् । तलबभत्ता बाहेक केही नखाने घोषणा गरेर दिनरात श्रमिक जसरी जनताको सेवामा खटेका हर्क यो देशको ‘मणि’ सावित हुँदैछन् ।

त्यस्तै काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका हस्ती उम्मेदवारहरुलाई ठूलो मतान्तरले पराजित गरेका युवा इञ्जिनियर बालेन्द्र साह (बालेन) आफ्नो चुनावी घोषणापत्र अनुसार नै काम गरिरहेका छन् । झरी–वर्षा केही नभनी रातदिन विकासका योजना, समस्या समाधानका खाका कोर्न र वडा–वडाका समस्या स्थलगत रुपमै निरीक्षण गरी कामको निर्देशन दिइरहेका छन् ।

फोहर व्यवस्थापनको दशकौं पुरानो समस्या उनले समाधानको बाटोमा लगिसकेका छन् । फोहरलाई मोहर बनाउने योजना बनिसकेको छ । अबको तीन महिनाभित्र त्यो काम गर्ने उनको योजना छ । सुरुमा उनलाई पनि केही वडाध्यक्षहरुले ‘थर्काउन’ खोजेका थिए, तर बालेनले सुृसंस्कृत राजनीतिक संस्कार देखाउँदै शान्त स्वरमा थोरै बोल्ने, एउटै बोलीले सबैको मुख बन्द गराइदिने गरेका छन् ।

काम गर्न उमेर र राजनीतिक दल चाहिंदैन भन्ने दृष्टान्त पनि काठमाडौं महानगरले दिएको छ । स्वतन्त्र रुपमा विजयी बालेन र नेकपा एमालेबाट विजयी उपमेयर सुनिता डंगालेको सहयात्रा अद्भूत छ । न सुनिताले बालेनलाई दलीय आँखाले हेरेकी छिन्, न बालेनले सुनितालाई । यी दुबै युवा उच्चशिक्षित र संस्कारित भएका कारण अबको पाँच वर्षमा काठमाडौंले वास्तविक रुपमा काँचुली फेर्नेछ ।

बालेनको चुनाव जिताई धेरैका लागि आठौं आश्चर्य पनि भयो । धरानमा हर्कको विजयलाई स्वाभाविक मानियो तर, बालेनको विजय अस्वाभाविक मानियो । बालेन मधेशी मूलका काठमाडौंका रैथाने हुन् । उनले चुनाव जित्न कुनै जात, धर्म, वर्ण र भेगको अस्त्र प्रयोग गरेनन् । मात्र काठमाडौंको इतिहास, धर्म, संस्कृति र यहाँको सम्पदा, शिक्षा, स्वास्थ्य, रोजगारीको कुरा उठाए । चुनाव प्रचारभर कसैको आलोचना गरेनन् । उनको आलोचना गर्नेहरुलाई पनि उनले “मेरो प्रचार गरिदिएकोमा धन्यवाद” भन्दै शिष्टता प्रकट गरिरहे र चुनाव नै जितेर देखाइदिए ।

बालेनको विजयलाई मधेशी रंग दिने प्रयास पनि भयो । केही मधेशी बुद्धिजीवी भनिनेहरुले बालेनले आफूलाई किन मधेशी भनेनन् भनेर प्रश्न उठाए । उनले बालेनले मधेशी भन्नुपथ्र्यो भन्दै जातीय र क्षेत्रीयतालाई प्रधान बनाउन खोजे । तर बालेनले मधेशी हैन, नेपाली हुँ भन्ने भावना देखाइदिए । यो बालेनको मात्र हैन तमाम नेपाली युवाहरुको भावना हो ।

यदि काठमाडौं संकीर्ण र साम्प्रदायिक थियो भने बालेनको विजय असम्भव थियो । तर बालेनको क्रेज यति बढेको छ कि उनी जहाँ पुग्छन् त्यहाँ फोटो खिच्ने र उनको नारा लगाउने जमात खडा भैहाल्छ । यो उनको गीतका कारणमात्र हैन, उनको सोच, दृष्टिकोण, कामगर्ने शैली र इमानदार प्रयासको फल हो ।

पालिकाहरुको निर्वाचनमा धेरैले चर्चा गर्ने दुई स्वतन्त्र उम्मेदवारहरुको विजय रहने गरेको छ । तर यहाँ अर्को महत्वपूर्ण के छ भने विजयी आधाजसो ४० वर्षभन्दा कम उमेरका छन् भने अत्यधिक मात्रामा नयाँ अनुहार आएका छन् । पुराना अनुहार दोहोरिएको संख्या निकै कम छ । यसले देखाएको संकेत जनता परिवर्तन चाहन्छन् भन्ने हो ।

अर्को महत्वपूर्ण पाटो भनेको जनताको आवाज कसले बोलेको छ, कसले टिपेको छ र कसले बोकेको छ भन्ने पनि हो । जनताको आवाज बोल्ने र बोक्ने नेता नै सच्चा नेता हुन् र उनीहरु पार्टीका हुन् वा स्वतन्त्र, राम्रो काम गरे जनताले जहिल्यै साथ दिन्छन् ।

स्थानीय तहको निर्वाचनमा सत्ता जहिल्यै आफ्नो पेवा हो भन्ने, जनताको काम छाडेर शीर्ष नेताहरुको दौराको फेर समातेर घुमिरहनेहरु पाखा पारिए । दलकै भए पनि युवा र नयाँ अनुहारहरु उदाए । यी अनुहारहरुले् पाँच वर्षमा मुलुकको कायापलट गर्न कुनै कसरी बाँक राख्ने छैनन्, नेताका लागि हैन देश र जनताका लागि काम गर्नेछन् भन्ने अपेक्षा गरौं र यसमा उनीहरुलाई शुभकामना पनि ।

तर, विगतकै जस्तै दलको स्वार्थ र नेताको पक्षपोषणलाई मात्र मन्त्र मानेर अघि बढे यो देशमा दलीय राजनीति असफल हुने निश्चित छ । काठमाडौं, धरान र धनगढीमा तीन स्वतन्त्र उम्मेदवारहरुले जसरी विजय प्राप्त गरे, उनीहरुले कसैलाई गाली नगरी, कसैको आलोचना नगरी आफ्नै मात्र एजेण्डा बोकेर जनतामा गए र विजयी भए । उनीहरुबाटै प्रभावित भएर अहिले राजनीतिबाट वाक्कदिक्क भएका युवाहरु धमात्रधम संघीय संसदको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिरहेका छन् ।

उनीहरु देशलाई परिवर्तन गर्न अब युवा पुस्ता राजनीतिमा आउनैपर्छ भन्दै अघि बढेका छन् । यसले दलका नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । संघीय संसद र प्रदेशसभामा दलका नेताहरुले योग्य, क्षमतावातको साटो आफ्नो खल्तीका मान्छेलाई उम्मेदवार बनाउने हो भने दलहरुको गुम्दो विश्वसनीयता अरु चुलिने छ र देशको राजनीति अर्कै दिशामा पनि मोडिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.