जन सरोकार

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय उद्घाटन (फोटोहरुसहित)

नेपालकै पहिलो युद्ध सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय

बेलायती साम्राज्यलाई पहिलोपटक युद्धमा पराजयको स्वाद चखाएको नेपालीको गौरबशाली थलो सिन्धुलीमा युद्ध सङ्ग्रहालयको उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताउँदै नेपालकै पहिलो युद्ध सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय हो भन्नुभयो ।

उहाँले यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक लाभ लिन सकिने विश्वास व्यक्त गर्दै सङ्ग्रहालय नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा रहेको जनाउनुभयो ।

राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताउनुभयो । एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवद्र्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्णस्थलका रुपमा सिन्धुलीगढी रहेको बताउनुभयो । उहाँले सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय स्थापना गौरवपूर्ण इतिहास जोगाउने महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्नेछ भन्नुभयो । सरकारले यस्ता सङ्ग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने उहाँले बताउनुभयो ।

सांसद गणेशकुमार पहाडीले ऐतिहासिकस्थल संरक्षणका लागि १०० पर्यटकीय गन्तव्यस्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीयस्थलका रुपमा अङ्ग्रेजहरुको पनि गन्तव्यस्थल हुन सक्ने बताउनुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिकगढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताउनुभयो । उहाँले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको छ भन्नुभयो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले पनि नवननिर्मित युद्ध सङ्ग्रहालयलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा प्रधानसेनापति थापाले नगर प्रमुख खत्रीलाई सङ्ग्रहालय हस्तान्तरण गर्नुभयो । विसं १८२४ असोजमा अङ्ग्रेजसँग भएको युद्धको सम्झनामा सो सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा त्यतिबेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्तावेज सङ्ग्रह गरिएको छ । युद्धमा सहभागी भएका झण्डै दुई हजार ४०० अङ्ग्रेज फौजमध्ये करिब एक हजार ६०० को मृत्यु भएको बताइन्छ ।

सोही समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गर्नुभएको छ ।

सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । ऐतिहासिक युद्धस्थलमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गर्नुभएको हो । नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो ।

सिन्धुलीगढीमै निर्माण भएको नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.