कर्पोरेट/पर्यटन

सौराहाका होटल सञ्चालनमा आए, पोखरामा पर्यटक बस संचालनको तयारी

लामो समयदेखिको सुनसान रहेको पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चार महिनापछि सञ्चालनमा ल्याएका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने सङ्घले जनाएको छ ।

यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सबै व्यवसायीले होटल सरसफाइ र व्यवस्थापन गरेको जानकारी दिनुभयो । उहाँले व्यवसायी होटल खोल्न पाउँदा उत्साहित भएको भन्दै आन्तरिक प्रचारप्रसारमा समेत जुटेको बताउनुभयो । प्रचारप्रसार स्वरुप नै केहीदिन अघि साइकलयात्रा गरिएको थियो ।

होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन् । सङ्घले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायी स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहनुभएका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा (लजिङ)मा ५० प्रतिशत छुटको घोषणा गर्नुभएको छ । यस्तै खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छुट दिने उहाँले बताउनुभयो ।

यस्तै होटल पार्क इन सौराहाका सञ्चालक दीपेश चौधरीले कोठामा ५० प्रतिशत छुट दिने जानकारी दिनुभयो । उहाँले खाना र पेयपदार्थमा १०/१० प्रतिशत छुट घोषणा गरिएको बताउनुभयो  । उहाँले भन्नुभयो, “पर्यटकलाई स्वागत गर्न हामी आतुर छौँ, छुट दिएर पर्यटक आउने वातावरण तयार पार्दैछौँ ।” सौराहाका अन्य होटल तथा रेष्टुराँले पनि छुटको प्याकेज ल्याउने तयारी गरिरहेका छन् ।

होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन हुने छन् । विशेष गरी जङ्गल सफारी, डुङ्गा सफारीका लागि प्रख्यात मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जङ्गल वाक हुने गर्दछ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ  ।

यसै गरी विश्वचर्चित पर्यटकीय नगरी पोखरामा पर्यटक सवारी साधन भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । व्यवसायीले पर्यटकलाई सुरक्षित महसुस गराउने गरी यातायात सञ्चालनको तयारी गरिरहेको पोखराबाट पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले बताउनुभयो ।

“हामी पर्यटकलाई जुनसुकै गन्तव्यमा पुग्नका लागि पनि सुरक्षित भएर यात्रा गर्दैछु भन्ने अनुभूति गराउने गरी तयारीमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटक सवारी साधनलाई विश्व स्वास्थ्य सङ्गठन एवं नेपाल सरकारको सुरक्षा मापदण्डअनुसार स्यानेटाइजर गर्ने र सवारी चालक एवं सहयोगी कर्मचारीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउनका लागि तालीम दिन थालिसकेका छौँ ।”

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पर्यटक बसमा खटिने कर्मचारीका लागि तालीम दिन शुरु गरिसकेको सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सामाजिक दूरी कायम गर्दै सङ्घले प्रत्येक समूहमा २५÷२५ जनाको दरले सवारी साधनको स्यानेटाइज एवं यातायात कर्मचारीले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डलगायतका विषयमा जानकारी दिन तालीम थालेको छ । उहाँका अनुसार पहिलो चरणमा तीन समूहका ७५ जनालाई तालीम दिइसकेको छ । अगामी भदौ १ गतेदेखि सवारी साधन सञ्चालनमा ल्याउने गरी सबै किसिमका तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.