जन सरोकार

२४ घण्टामा बाढी र पहिरोबाट ११ जनाको मृत्यु, कैलालीमा छ हजार घर डुबानमा

केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ ।

मनसुनजन्य विपद्मा परेर पछिल्लो २४ घण्टामा ११ को मृत्यु भएको, छ बेपत्ता रहेको तथा १२ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । केही दिनदेखि मनसुन नेपालको पश्चिम जिल्लामा सक्रिय छ ।

कालीकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका र कालीकोटमा भने बढी क्षति भएको प्राधिकरणले जनाएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–४ माझगोठीस्थित एक घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।
सोही गाउँपालिका–७ स्थित घरमा पहिलो खस्दा अन्य सात ले ज्यान गुमाएका र महावै गाउँपालिका–७ कोडवाडामा माथिबाट ढुङ्गा खसेर घर थिच्दा दुई बालबालिकाको ज्यान गएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

कालीकोटका विभिन्न स्थानमा पाँच जना हराइरहेकाले सेना र प्रहरी टोलीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धारका लागि बुधबारदेखि नै सेनाको हेलिकोप्टर आउने प्रयास गरे पनि मौसम बिग्रेकाले सफल हुनसकेको छैन ।

बाजुराको बूढीगङ्गा नगरपालिका–१ अमकोटमा गोठालो गएका एक व्यक्ति पहिरामा परेर बेपत्ता भएका छन् । कैलाली र बर्दियामा समेत बाढी र पहिराले केही मानिस घाइते भएका र बाढी पसेर दुई हजार कुखुरा तथा खोर नष्ट भएको जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरले मनसुन न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिनदेखि मनसुन सक्रिय रहेको र बढी पश्चिम क्षेत्रमा पानी परेको जानकारी दिनुभयो ।
कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभएको छ ।

प्रहरी उपरीक्षक जबराका अनुसार काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो । बुधबार अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेको थियो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा उनीहरु बेपत्ता भएका हुन ।

६ हजार बढी घर डुबानमा

अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा ६ हजार भन्दा बढी घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार ६ हजार ३२० घर डुबानमा परेको छ । जोशीपुरमा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, टिकपुरमा नगरपालिकामा ८२५ र जानकी गाउँपालिकामा १ हजार घर डुबानमा परेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिनसभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.