भीमफेदी कारागारका तीन सय ५५ बन्दीमा कोरोना पोजिटिभ
अधिकांश बन्दीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि कोरोना पोजिटिभ देखिएको
मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३ सय ५५ बन्दीलाई कोरोना पोजिटिभ पुष्टि भएको छ । कारागारमा रहेका ९ सय ६९ बन्दीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो ।

कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का बन्दीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिनुभयो ।
कोरोना पोजिटिभ देखिएका बन्दीलाई कारागारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ । साथै कोरोना नभएका बन्दीलाई तल्लोतलामा व्यवस्थापन गरिएको पाण्डेले बताउनुभयो ।
कारागारमा रहेका अधिकांश बन्दीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजिटिभ देखिएको छ ।
भीमफेदी कारागारबाट बन्दीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजिटिभ देखिएपछि बैठक बसी कारागारका बन्दीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजिटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्