राजनीति

अर्थ र ऊर्जामन्त्रीसंग चिनियाँ राजदूत शिष्टाचार भेट

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले कोभिडविरुद्ध नेपाली नागरिकलाई खोप सरकारको प्राथमिकतामा रहेको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गर्नुभयो । उहाँले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकाले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत्, विमानस्थललगायतका निर्माणाधीन परियोजना सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताउनुभयो । भेटको क्रममा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गर्नुुभएको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारीविरुद्धको लडाइँमा आफूहरु नेपालको साथमा रहँदै आएको बताउनुभयो । चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिनुभयो ।

यस्तै भूकम्पपछिको पुनःनिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाको पुनःनिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उहाँले दरबार हाईस्कूलको पुनःनिर्माण सकिएको, वसन्तपुरको नौतले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाको काम पनि चाँडै सम्पन्न गरिने बताउनुभयो ।

यसै गरी चिनियाँ राजदूत होउ याङ्छीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताउनुभयो । ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ ९बिआरआइ०को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिनुभयो ।

चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनु परेको उल्लेख गर्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गर्नुभयो । चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गर्नुभयो । उहाँले नेपालको विकासमा चीनले पु¥याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । चिनियाँ कम्पनीले जलविद्युत्का क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उहाँले उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।

चिनियाँ पावर कन्स्ट्रक्सन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशुली थ्रि ‘ए’लगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.