जन सरोकार

‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्पे्रषण गरी राज्यलाई रु सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गर्नुभएकाले पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो ।

काठमाडौँमा आज आयोजित इन्जाको पाँचौँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नगद रु एक लाख राशि र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गर्नुभएको हो ।

त्यसैगरी मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई, ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई जनही रु ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो । मन्त्री कार्कीले आजै वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गर्नुभयो ।

टक्सार मासिकका प्रधानसम्पादक बुढाथोकीलगायतका पत्रकारहरुलाई सम्मान गर्दै मन्त्री कार्कीले इन्जाले गाह्रो, साह्रो र अप्ठेरोमा परेका पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरुआत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली पत्रकारिता आवाजविहीनहरुको आवाजलाई बाहिर ल्याउने सशक्त माध्यम बन्नुपर्नेमा जोड दिनुभयो ।

इन्जा संसारभर छरिएर रहेका नेपाली भाषी पत्रकारहरुले स्थापना गरेको संस्था हो । इन्जाको प्रधान कार्यालय अमेरिकामा छ । इन्जा अमेरिकाका अध्यक्ष गुणराज लुइँटेलले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विभिन्न अप्ठेरोमा परेका नेपाली पत्रकारलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले अप्ठेरामा परेका पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासङ्घ इन्जासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

समारोहमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा), एसियाका अध्यक्ष टङ्क पन्त, केन्द्रीय सचिव दीपक रिजाल, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहलगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.