जन सरोकार

ऋण तिर्न नसकेपछि अपहरणमा परे भन्दै अभिनय गर्दा …

सिन्धुपाल्चोकमा एक व्यक्तिले अपहरणमा परेको भनेर प्रहरीलाई सूचना दिएपछि प्रहरी सक्रिय भयो र उनले सूचना दिएको १८ घण्टापछि ती व्यक्ति स्वयं नै पक्राउ परे । पक्राउपछि उनको वास्तविकता खुल्यो, ऋण तिर्न नसकेपछि आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका रहेछन् ।

बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनलाई अपहरणको नाटक गरी झुटा अपवाह फैलाइ समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

गत बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका–५ यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । वर्ष दिनअघिदेखि गाउँमा कुखुरापालन गरेर बसेका उनले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनले तिर्न नसकेपछि यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

स्वास्थ्य सामग्री सहयोग

चीनको न्यालम कन्ट्री सरकारले सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । केही दिनअघि दुई देशबीच सम्पन्न सीमा सुरक्षा बैठकमा नेपालमा अझै कोरोना भाइरस नियन्त्रणमा नआएकाले स्वास्थ्य सामग्री प्रदान गर्ने जानकारी दिएको थियो ।

यसअघि झण्डै रु एक करोड बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान प्राप्त गरेको थियो । सीमावर्ती भोटेकोशी गाउँपालिकालाई समेत न्यालम सरकारको तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

बाढीपहिरो पीडितका लागि चीन सरकारले खाद्यान्न, टेन्टलगायत अन्य आवश्यक सामग्रीसमेत सिन्धुपाल्चोकलाई दिने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार न्यालम सरकारले एन–९५ मास्क एक हजार थान र डिस्पोजएबल मेडिकल मास्क १०० थानलगायतका नौ प्रकारका स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.