खेल

१३ औं सागका स्वर्णविनेता खेलाडीलाई कांग्रेसको सम्मान

गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि नेपाली कांग्रेस केन्द्रीय खेलकूद विभागले सम्मान गरेको छ । पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले खेलाडीहरुलाई सम्मानित गर्नुभएको हो ।

सो अवसरमा उहाँले खेलाडी देशको गहना र शान भएको उल्लेख गर्दै खेलाडीको हकहितका लागि सङ्घीय संसद्मा आवाज उठाउने बताउनुभयो छ । सभापति देउवाले काँग्रेसको सरकार भएका बेला खेलाडीका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । विगतमा पनि काँग्रेसले सरकारको नेतृत्व गरेको बेला खेलाडीको हितमा काम गरेको स्मरण गराउँदै उहाँले खेलाडीले नै विश्वमा नेपालको इज्जत र प्रतिष्ठा बढाएको बताउनुभयो ।

आफ्नो संक्षिप्त मन्तव्यमा सभापति देउवाले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकामा उहाँहरूको प्रशंसा गर्नुभयो । खेलाडीले देशको गौरव बढाउन खेल्ने भन्दै उहाँले हरेक नागरिक स्वस्थ रहन खेलकूद आवश्यक भएको उल्लेख गर्नुभयो । काँग्रेस सधैँ खेलाडीको पक्षमा रहेको बताउँदै उहाँले केही अप्ठेराहरू भए खेलाडीको पक्षमा लाग्न आफूले सरकारलाई दबाब दिने बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणका बेला खेलाडी आफू स्वस्थ रही देशलाई नै स्वस्थ बनाउन भूमिका निर्वाह गर्न उहाँले सम्पूर्ण खेलाडीलाई आग्रह गर्नुभयो । कोरोना सङ्क्रमण बढ्दै गएको तर्फ उपस्थित सबैको ध्यान केन्द्रित गर्दै सभापति देउवाले कार्यक्रम आयोजना गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको भन्दै उहाँले त्यसप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले देशको इतिहास बोकेको पार्टी काँग्रेसले खेलाडीलाई सम्झेकामा राखेपका तर्फबाट धन्यवाद दिनुभयो । रकम ठूलो होइन सम्मान ठूलो कुरा हो भन्दै उहाँले देश विदेशमा राष्ट्रिय धुन बजाउन खेलाडीको अहम् भूमिका रहेको उल्लेख गर्नुभयो । सदस्यसचिव सिलवालले खेलकूद ऐन, २०७७ ल्याउनुअघि संसद्मा सांसदहरूले पर्याप्त ध्यान र समय नदिएकामा गुनासो गर्नुभयो । खेलाडीको हकहितका लागि हाल जारी ऐनमा अझै धेरै कुरा गर्न बाँकी रहेको भन्दै उहाँले आगामी दिनमा सबैले थप छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मानित खेलाडीका तर्फबाट बोल्दै सागमा करातेमा दोहरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले कोरोना कहरका बीचमा समेत सम्मान गरेकामा सम्पूर्ण खेलाडीका तर्फबाट आयोजकलाई धन्यवाद दिनुभयो । खेलाडी एक्लैले पदक प्राप्त गर्न नसक्ने भन्दै उहाँले आयोजकले खेलाडीसँगै प्रशिक्षकलाई पनि सम्मान गर्न सुझाव दिनुभयो ।

श्रेष्ठले प्रशिक्षक खेलाडीको आमाबुबा भएको आयोजकलाई स्मरण गराउनुभयो । पछिल्लो समय सरकारले खेलाडीको भविष्यको सुनिश्चितता र विभूषण प्रदान गर्दा सागमा पदक प्राप्त गर्ने सबै खेलाडीलाई नसमेटेकामा गुनासो गर्नुभयो । नवौँ सागपछि विभूषण प्रदान गर्ने क्रममा तथा जागिर दिलाउनमा कन्जुस्याइँ गरिँदै आएको प्रति श्रेष्ठले असहमति प्रकट गर्नुभयो । पदक जितेको केही महिनासम्म सम्मान गर्ने र पछि खेलाडीलाई सबैले बाई बाई गर्दै आएको परिपाटी चित्तबुझ्दो नभएको उहाँको भनाइ थियो ।

काँग्रेस खेलकूद विभागले चार स्वर्ण जित्नेलाई रु २५ हजार, दोहोरो स्वर्ण जित्नेलाई रु १५ हजार तथा एउटा स्वर्ण जित्नेलाई रु १० हजार नगद र प्रमाणपत्रसहित खेलाडीलाई सम्मान गरेको हो । सर्वाधिक चार स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले रु २५ हजार तथा दुई दुई स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फ खेलाडी सुवास तामाङले जनही रु १५ हजार प्राप्त गर्नुभयो ।

सागमा एकल र समूहगत रूपमा स्वर्ण जित्ने कूल ८० खेलाडीलाई सम्मान गरिएको हो । गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक प्राप्त जितेको थियो । नेपालले व्यक्तिगत र समूहगत गरी १३ खेलमा स्वर्ण पदक जितेको थियो ।

रजत र कास्य पदक प्राप्त गर्नेलाई पनि सम्मान गछौँ- खेलकूद विभाग प्रमुख बस्नेत

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले १३औँ सागमा स्वर्ण जित्ने खेलाडीलाई मात्र नभई रजत र कास्य प्राप्त गर्ने खेलाडीलाई पनि विभागले सम्मान गर्ने बताउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै आज स्वर्ण जित्नेलाई मात्र सम्मान गरिएको उहाँको भनाइ थियो ।

आत्मसम्मान र प्रोत्साहनका लागि खेलाडीलाई सम्मानित गरिएको बस्नेतले बताउनुभयो । विभागले टोकियो ओलम्पिक छनोटको तयारीमा रहेका खेलाडी र प्रशिक्षकको कोरोना बीमा गर्ने आज आयोजित सम्मान कार्यक्रममा उहाँले घोषणा गर्नुभयो । उहाँले अहिलेको राखेपको नेतृत्वबाट खेलकूदले ठूलो आशा राखेको बताउँदै खेल र खेलाडीको हकहितका लागि काँग्रेसले सधैँ वर्तमान नेतृत्वलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपाल ओलम्पिक कमिटीलाई प्राप्त हुँदै आएको वैदेशिक आर्थिक सहयोगबारे सरकारलाई जानकारी गराउनुपर्ने तथा सहयोग लिनु अघि सरकारको स्वीकृति लिनुपर्ने माग गर्नुभयो ।

हाल जारी ऐनमा उक्त सहयोग लिँदा सरकारको स्वीकृति आवश्यक नभएको प्रसङ्ग उल्लेख गर्दै बस्नेतले सो व्यवस्थाले खेलकूद ऐनमा गम्भीर त्रुटि भएको बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण आजको कार्यक्रममा स्वर्ण पदक विजेता २३ खेलाडी अनुपस्थित थिए । उहाँहरूलाई सम्बन्धित जिल्लामै सम्मान गरिने प्रमुख बस्नेतले बताउनुभयो ।

सम्मान कार्यक्रममा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं नेता गोपालमान श्रेष्ठ, काँग्रेस केन्द्रीय खेलकूद विभागका उपप्रमुख मोहनकुमार राई, विभागका सचिव मीनकृष्ण महर्जन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका संस्थापक अध्यक्ष एवं ओलम्पियन दीपक विष्ट, सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वसांसद राजीवविक्रम शाह, विभिन्न खेल सङ्घका अध्यक्ष तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.