अन्तर्राष्ट्रिय बजारमा घट्यो इन्धनको मूल्य, नेपालमा के हुन्छ ?
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको छ । नेपालले इन्धन खरीद गर्ने इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । तर, नेपालमा तत्काल मूल्य घट्ने कुनै सम्भावना छैन ।

अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०३ डलरमा कारोबार भइरहेको छ। गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रति ब्यारेल १२३ डलरभन्दा धेरै थियो। त्यो बेलाको भाउभन्दा अहिले करिब २० डलर कम भइसकेको छ।
यसैअनुसार आइओसीले सोमबार नेपाललाई नयाँ मूल्य पठाएको छ। निगमका अनुसार सोमबार प्राप्त मूल्य सूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ।
१५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो। त्यो समयमा भारतबाट मूल्य घटेर आए पनि आयल निगमले भने मूल्य घटाएको थिएन ।
यो पटक पनि नेपाली बजारमा घटाउनेबारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभएको छ । निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ।
अहिले मूल्य घटेर आउँदा पनि १५ दिनमा ७५ करोड रूपैयाँ घाटा भएको निगमले जनाएको छ। एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने निगमको भनाइ छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत आइओसीले हरेक महिना पन्ध्रपन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्छ। सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ ।
प्रतिक्रिया राख्नुहोस्