खेलफूटबल

साफ यू २० च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चुक्यो नेपाल

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । मंगलबार बंगलादेशसंग बराबरी खेलेको नेपाल भारतले माल्दिभ्सलाई पराजित गरेसंगै समूहचरणबाटै बाहिरिएको हो ।

मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ ।

भारतसँग ८–० को लज्जास्पद हार व्यहोरेको नेपालका लागि फाइनल प्रवेशको सम्भावना कायम राख्न बंगलादेशमाथि भारी गोल अन्तरको जित चाहिएको थियो ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकियो, जुन खेलको दोस्रो हाफ भने तनावपूर्ण रह्यो । तीन खेलाडीले रातो कार्ड पाएका थिए ।

पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । १५औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो । ३३ औं मिनेटमा दिपेश गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पञ्च गर्दै बचाए ।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल खेलेका थिए । तर दोस्रो मिनेटमै तनाव देखियो । बंगलादेशका कप्तान तनविर हुसेनले नेपालका कृतिश रत्न छुन्जुलाई लडाएपछि लाइन्स म्यानले फल दिए । हुसेन, लाइन्सम्यानसँग प्रतिवाद गर्न गए । नेपालका कप्तान आयुष घलानले बंगलादेशी खेलाडीलाई धक्का दिएपछि हात हालाहालको स्थिति बन्यो ।

रेफ्रीले बंगलादेशका शहीदुल इस्लाम र नेपालका दिपेश गुरुङलाई रातो कार्ड देखाए । पहिल्यै पहेँलो कार्ड पाइसकेका शहीदुललाई दोस्रो पटक पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाएका थिए ।

हात हालाहालमा संलग्न भएका नेपालका बेन्चमा खेलाडी रोहित सुब्बालाई पनि रेफ्रीले रातो कार्ड देखाए । मैदानमा दुवै टिम १०(१० खेलाडीमा सिमित भयो ।

खेल झनै प्रतिस्पर्धात्मक बन्यो । ६३औं मिनेटमा अहमेद नोभाले गोल गर्दै बंगलादेशलाई पहिले अग्रता दिलाए, तर पाँच मिनेटपछि नै नेपालले गोल फर्कायो । ६८औं मिनेटमा निरन्जन मल्लले बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरे ।

८८औं मिनेटमा बंगलादेशका नोभाले वान भर्सेस वानमा गोल गर्न सकेनन् । नोभाको प्रहार नेपालका गोलकिपर इश्वर गुरुङले बचाएपछि खेल बराबरीमा टुंगियो ।

बराबरीपछि चार खेलबाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गर्यो । समान चार खेलबाट ७ अंक जोडेको नेपालका लागि भने भारत र माल्दिभ्सको खेल महत्वपूर्ण भयो ।

६ अंक जोडेको भारत, माल्दिभ्ससँग पराजित भएमा नेपाल फाइनल पुग्ने थियो भने बराबरी वा जितले भने भारत फाइनल पुग्ने अवस्था बनेको थियो । तर, अन्तिमम समयमा भारतले गोल गर्दै फाइनलमा स्थान पक्का गर्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.