जन सरोकार

सप्तकोशीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा

उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

कोशी नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र–६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सयजना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

उनीहरु श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरु आउन नमानेको र फसेकाहरु सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताउनुभयो ।

यसैबीच कटान गरिएको क्षेत्रमा १ नं प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की सहितले निरीक्षण गर्नुभएको छ । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताउनुभयो । अहिले केही बेरमा प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरण लगायतका विषयमा केन्द्रित हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.