जन सरोकार

मेलम्चीको पानी तत्काल काठमाडौं ल्याउन असम्भव

निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङमा क्षति, आयोजना सबै पुरिएर बगर

गत असार १ गते र गत शनिबारको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पुगेपछि काठमाडौं उपत्यकामा तत्काल पानी आउने सम्भावना निकै कम भएको छ । बाढी-पहिरोले निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङमा क्षति पुगेको छ । यी सबै संरचनाको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था छैन ।

असार १ र साउन १७ गतेको लेदोसहितको बाढीले हेडवक्स निर्माणस्थल पुरिएर बगर भएको छ, आयोजना नै अनिश्चित भएको छ । वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था रहे पनि त्यो पनि निर्माण गर्नुपर्ने र त्यसका लागि पहिला सडक बन्नुपर्न मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभएको छ ।

उहाँका अनुसार पुरिएका सबै संरचना सफा गर्नु पर्यो । अब कसरी अगाडि बढ्ने भन्ने कुराको निश्चित भइसकेको छैन । असार १ गतेको भन्दा साउन १७ गतेको बाढी ठूलो रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ । खोलाले लेदोसहितको माटो बालुवा ल्याएर बगर क्षेत्र विस्तार गरिरहेको छ । खोलाको उचाइ पनि बढाइरहेको छ । जसले गर्दा मेलम्ची आयोजनाका हेडवक्सदेखिका सबै संरचना पुरिएका छन् । नदीले धार परिवर्तन गरेको छ ।

मेलम्ची आयोजना सबै पुरिएर बगर भएको छ । बाढीले आयोजनाका भौतिक संरचना पुरिएका छन् । पुलहरू बगाएका छन् । निर्माणस्थलमा बालुवा, ढुङ्गा् गिट्टी थुप्रिएर बगर भएको छ । बाढी आउने र पहिरो जाने क्रम रोकिएको छैन ।

पन्तका अनुसार आयोजना निर्माणस्थलमा पुग्ने पहुँचमार्ग र पुल बाढीले बगाएकाले ट्र्याक खोल्नुपर्ने अवस्था छ । तर वर्षातमै ट्र्याक खुला गर्न सकिने अवस्था छैन । मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बुअगरी खण्डमा मोटरबाटो बगाएको छ । करिब आठ स्थानमा नयाँ ट्र्याक खुलाउनुपर्नेछ ।

हेडवक्स करिब १५ मिटर पुरिएको समितिले जनाएको छ । हेडवक्समा करिब पाँच लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको छ । त्यसलाई हटाउन करिब ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । अस्थायी ड्याम र पुलहरू सबै बाढीले बगाएको छ ।

हाल सुरुङभित्र पानी भरिएको छ । अम्बाथानको सहायक सुरुङ टालिएर अवरुद्ध छ । आयोजनामा करिब तीन अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी नै छ ।

बाढीले आयोजनाको सुरुङमा भने क्षति पुर्याएको छैन । आयोजनाका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन नगरी मेलम्ची आयोजना के हुन्छ भन्न सक्ने अवस्था छैन । जुनसुकै बेला लेदोसहितको बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रको अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।

त्यसो त सो क्षेत्रमा बाढी र पहिरोको खतरा टरिसकेको छैनन । हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाका अनुसार हिमालको तल्लो भेगमा पहिरो गइरहेका छन् । भेनाथाङमा ठूलो पहिरो गइरहेको छ । अझै ७५ प्रतिशत त्यो पहिरो झर्न बाँकी रहेको भनिएको छ । त्यसले नदी थुनिने, अझै बाढी आउने सम्भावना छ । जुनसुकै बेला पनि बाढी आउन सक्ने अवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.