अर्थ

प्रमुख प्रशासकीय अधिकृतकै रु १२ करोड बेरुजु

स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । जनप्रतिनिधिका बेरुजु त हुने नै भए कतिपय पालिकाहरुमा भने प्रमुख प्रशासकीय अधिकृतकै बेरुजु दशौं करोड रहेको पाइएको छ ।

यसै क्रममा महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उहाँमाथि सो बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७६/७७ को प्रारम्भदेखि उहाँ सो नगरपालिकामा कार्यरत हुनुहुन्छ ।

२०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७/७८ सम्म रु १२ करोड नाघेको हो ।

उहाँमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने रु छ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने रु ७७ लाख ९० हजार र पेश्की रु दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै रु छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८÷७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।

कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७/७८ सम्ममा नगरपालिकाको गत वर्ष (२०७६/७७) को रु ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो ।

पछिल्लो आव २०७७/७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु रु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.