राजनीति

पशुपति क्षेत्र सफा राख्न संस्कृतिमन्त्री श्रेष्ठको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गर्दै मन्दिर परिसरका सम्पूर्ण क्षेत्रको सरसफाईमा ध्यान दिन निर्देशन दिनुभएको छ ।

मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो । मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूप मन्दिर पुनःनिर्माणको अवस्थाबारे पनि उहाँले जानकारी लिनुभयो ।

पुनःनिर्माण भइरहेका सम्पदास्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन पछि त्यहाँको सरसफाईमा ध्यान दिन र भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो ।

सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयका रूपमा रहेको बताउँदै मन्त्री श्रेष्ठले सुरक्षा, संरक्षण रसरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । घाट व्यवस्थापन, पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो ।

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको र त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । उहाँले कोषका अन्य गतिविधिका बारेमा पनि मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.