जन सरोकार

आपराधिक गतिविधि नियन्त्रण गर्न संयुक्त निगरानी

नेपाल र भारतको सीमानाकाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

जनकपुरधाममा शनिबार बसेको नेपाल–भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले खुला सीमानाकाको फाइदा उठाउँदै हुने चोरी, तस्करी, लागुऔषध ओसारपसार, अवैध गतिविधिलगायत आपराधिक क्रियाकलापलाई रोक्न दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागुऔषधसम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमास्तम्भहरूको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायतका विषयमा निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो ।

यो बैठक नेपाल र भारतका सुरक्षाकर्मीको बस्ने नियमित बैठक रहेको र यस्ता बैठकले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुका साथै समय–समयमा सुरक्षाकर्मीबाट सहयोग पनि भेटिरहेको प्रजिअ पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गर्नुभएको थियो भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गर्नुभएको थियो ।

सो बैठकमा प्रजिअ पौडेलसहित सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.