अर्थकृषि

समयमा काम नहुँदा भोग्नुपरेको समस्या

सरकारले कृषियोग्य जमिन संरक्षणका लागि भन्दै निश्चित समयभित्र जग्गाको वर्गीकरण गर्ने र सो काम नहुँदासम्म अंशबन्डा, जग्गा कारोबार र कित्ताकाट रोके पनि समयमा काम नहुँदा समस्या उत्पन्न भएको छ ।

भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण नगरी अन्य कुनै पनि प्रक्रियामा जान नसकिने व्यवस्था गरे अनुसार अहिलेसम्म जग्गाको वर्गीकरण गरिएको छैन ।

नियमावलीमा कृषियोग्य जग्गाको वर्गीकरणका लागि छ महिनाको समयसीमा निर्धारण गरिएको छ। अन्य जग्गाको वर्गीकरणका लागि समयसीमा तोकिएको छैन। नियमावली गत जेठमा जारी गरिएको थियो ।

ऐन र नियमावलीमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र अन्य गरी १० वटा क्षेत्रमा भूमिको वर्गीकरण गर्ने व्यवस्था गरिएको छ।

भूमिको वर्गीकरणअनुसार उपयोग गर्ने, उपयोगका आधारमा भूमिकर निर्धारण गर्ने, भूमिको मौजुदा उपयोग र आवश्यकताका आधारमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालगायत नियमावलीमा व्यवस्था छ।

नियमावलीअनुसार वर्गीकरण नभएको जग्गा धितो राख्न नपाइने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । जग्गाको वर्गीकरण नभइसकेको भन्दै धितो राख्न पाउनेगरी गत असार ५ गते अदालतले आदेश दिएको थियो।

खेतीयोग्य जग्गा र गैरकृषि क्षेत्रको जग्गा भनी वर्गीकरण भएपछि मात्रै धितो बन्धक राख्न पाउने सरकारको निर्णय थियो। उक्त निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको थियो।

भूमि वर्गीकरणका लागि स्थानीय पालिकाको भूमिका प्रमुख रहने व्यवस्था गरिएको छ। तीन तहका सरकारअन्तर्गत भूउपयोग परिषद्को व्यवस्था गरिएको छ ।

परिषद् गठन भएपछि पनि पालिकालाई सबै जग्गाको वर्गीकरण गर्न समय लाग्नेछ तर, परिषद् गठन भइसकेका छैनन् । जग्गाको वर्गीकरण गर्नका लागि प्राविधिक दक्ष जनशक्ति आवश्यक पर्छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जग्गा प्रशासन महाशाखा प्रमुख पद्मनिधि सोतीले परिषद्को आवश्यकताअनुसार नापी विभागले सहयोग गर्ने बताउनुभयो। उहाँले जनशक्तिकै कारण वर्गीकरणमा समस्या नपर्ने स्पष्ट पार्नुभयो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले कतिपय अवस्थामा सर्वदलीय बैठक बसेर समस्या समाधान गर्न सकिने बताउनुभयो। उहाँले जग्गाको खण्डीकरण हुन नदिने उद्देश्य रहेको पनि स्पष्ट पार्नुभयो ।

नियमावली कार्यान्वयनक्रममा परेका समस्याको सन्दर्भमा भने मन्त्रालयमा छलफल र समन्वयको प्रयास भइरहेको मन्त्रालयका सहसचिव सोतीले जानकारी दिनुभयो। देशको समग्र भूमिलाई विभिन्न भूउपयोग क्षेत्रमा वर्गीकरण गर्ने, सङ्घ, प्रदेश र स्थानीय स्तरमा भूउपयोग योजना तर्जुमा गर्ने विषय नियमावलीमा समावेश गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.