जन सरोकार

दुई साताभित्र उपत्यकाका १ सय ३६ स्थानमा कोरोना संक्रमण : उच्च सतर्कता आवश्यक

उपत्यकाको तापक्रम

उपत्यकाका काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो १ सय ६ जना संक्रमित थपिएकामा साँझ पुग्दासम्म एउटै परिवारका सात जनासहित १ सय २४ जना संक्रमित थपिए । यो संख्या उपत्यकामा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । त्यसमा पनि प्रदेश २ बाट आएकाको संख्या बढी छ । भारतबाट आएका पाँच जना छन् ।

संक्रमित बढ्दै गएपछि अस्पतालहरुमा शय्या अभावका कारण शुक्रबार पनि संक्रमितमध्ये २५ जनालाई मात्र अस्पतालको आइसोलेसनमा पठाइएको छ । ६८ जना घरकै आइसोलेसनमा बसेका छन् । केही सम्पर्कविहीन र उपत्यकाबाहिर छन् । शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ३४ जना महिला छन् । उपत्यकाको एक परिवारमा सात जनालाई संक्रमण भएको छ भने अर्को एक परिवारमा दुई जना संक्रमित भएका छन् । लकडाउन हटेयता लक्षणसहितको संक्रमितको संख्या पनि बढेको छ ।

उपत्यकामा शुक्रबार लक्षणसहितका संक्रमित ३० जना पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना देखिएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् ।

दिनमा ५० जनाभन्दा बढी संक्रमित थपिन थालेपछि आइसोलेसनमा राख्ने शय्याको अभाव हुन थालेको छ । ईडीसीडीको संक्रमित व्यवस्थापन गर्ने टोलीले घरमै आइसोलेसनमा बस्न चाहनेलाई अनुमति दिने गरेको छ । उनीहरूलाई स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने भए पनि अधिकांशलाई निगरानी नगरिएको गुनासो छ ।

संक्रमित भर्ना गर्न तोकिएको अस्पतालको शय्या खाली नभएपछि कीर्तिपुरको आयुर्वेद अस्पताललाई दुई सय शय्यामा विस्तार गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । तर ती प्रयोगमा आइसकेका छैनन् । त्यस्तै, छाउनीस्थित सैनिक अस्पताल र महाराजगन्जको प्रहरी अस्पताललाई पनि लेबल २ को अस्पताल बनाउने निर्णय मन्त्रालयले गरिसकेको अधिकारीले जानकारी दिए । तर सेनाले सैनिकलाई मात्रै र प्रहरीले आफ्नो संगठनभित्रका संक्रमित मात्र भर्ना गर्ने भनेका छन् ।

ईडीसीडीका अनुसार साउन ९ देखि २१ सम्म काठमाडौं, भक्तपुर र ललितपुरमा करिब ४ सय ८५ जना कोरोना संक्रमित देखिएका छन् । यसमा काठमाडौं महानगरमा मात्र करिब ६५ प्रतिशत अर्थात् ३ सय १५ जना संक्रमित भेटिएका छन् ।

उपत्यकामा दुई सातायता १ सय ३६ स्थानमा संक्रमित भेटिएका हुन् । २४ स्थानमा संक्रमितको संख्या ५ वा ५ भन्दा बढी छ । सबैभन्दा बढी ७५ जना संक्रमित नेपाल प्रहरीको मुख्यालयमा भेटिएको छ । कालीमाटी, बागबजार र सामाखुसी क्षेत्रमा १०र१० जना संक्रमित पाइएको छ । यी क्षेत्रका संक्रमितमध्ये अधिकांश लकडाउनपछि भारत र तराईबाट फर्केकाहरू रहेको ईडीसीडीले जनाएको छ । कालीमाटी, बागबजार र सामाखुसी उपत्यका बाहिरबाट आएका मानिसको बढी चहलपहल हुने स्थान हुन् ।

ईडीसीडीका अनुसार ललितपुरको सानेपामा ९ जना संक्रमित फेला परेका छन् । वनस्थली, टेकु र टंगाल क्षेत्रका आठ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि ७/७ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा व्यापारिक केन्द्रका रूपमा चिनिने असनमा मात्रै ६ संक्रमित फेला परेका छन् । बिजुली बजार क्षेत्रमा पनि ६ संक्रमित पाइएको छ । वीरगञ्जको एक बैंकका म्यानेजर काठमाडौं फर्केपछि बिजुली बजारमा पहिलो संक्रमित भेटिएको थियो । त्यसपछि त्यहाँ अरूमा संक्रमण पुष्टि भएको हो ।

यस्तै बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला तथा ताल्छीखेलमा ५/५ जना संक्रमित फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । घट्टेकुलोमा भेटिएका संक्रमित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारीको परिवारका सदय हुन । बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा ४र४ जना संक्रमित भेटिएका छन ।

यस्तै अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा ३र३ जनामा संक्रमण देखिएको छ । बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायत स्थानमा २र२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

न्युरोड क्षेत्रमा बजार बन्द

काठमाडौं महानगरपालिका वडा नं २२ ले न्युरोड, इन्द्रचोक क्षेत्रमा तीन जना संक्रमित देखिएपछि वडाभरि बजार बन्द गर्ने निर्णय गरेको छ । काठमाडौंको न्युरोड नजिकैको खिचापोखरीमा बुधबार एक माछा पसलेलाई कोरोना देखिएको थियो । प्रदेश २ बाट आउनेबित्तिकै उनलाई वडाध्यक्ष चिनीकाजी महर्जनले पीसीआर गर्न पठाएका थिए ।

शुक्रबार वटुमा एक जना र कोइला गल्लीमा एक जना संक्रमित देखिएपछि स्थानीय व्यापार संघसँग समेत परामर्श गरेर न्युरोड क्षेत्रको पसल बन्द गर्ने वडास्तरीय निर्णय भएको हो । शुक्रबार संक्रमण पुष्टि भएका दुवै जना रेडिमेड कपडाका होलसेल व्यापारी हुन् । दुवैलाई लक्षणसहितको कोरोना देखिएको छ ।

यही वडासँगै जोडिएको वडा नं २६ मा पर्ने असनमा एउटै परिवारका ५ जनासहित ९ जना संक्रमित भइसकेको वडाध्यक्ष चिनियामान बज्राचार्यले बताउनुभयो । ९ मध्ये ७ जना असन र महाबौद्ध क्षेत्रका व्यापारी हुन् । भारतबाट फर्केकी महिलाबाट संक्रमण फैलिएको अनुमान छ । उक्त वडामा पनि आइतबारदेखि पसल बन्द गराउन लागेको छ । काठमाडौंका महाबौद्ध, असन, भोटाहिटी, इन्द्रचोक, न्युरोड सर्वसाधारणको बढी चाप हुने क्षेत्र हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.