जल/वातावरण

अस्पतालहरुको ढोका ढोका चाहार्दैमा ज्यान गयो २० वर्षीया युवतीको

वीरगञ्ज–२ छपकैयाकी २० वर्षीय युवती चार–पाँच दिनदेखि ज्वरो, रुघाखोकीले सिकिस्त बनेपछि शुक्रबार रातभर अटोमा चढेर त्यहाँका विभिन्न निजी र सरकारी अस्पताल धाइरहिन तर कुनै पनि अस्पतालले भर्ना लिएन । अन्ततः अस्थाई कोभिड अस्पताल पुर्याइएपछि उनको मृत्यु भयो ।

वीरगञ्जका निजी अस्पतालहरू एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताल र नेशनल मेडिकल, सरकारी अस्पताल नारायणी अस्पतालका ड्युटीमा रहेका कर्मचारीहरूले समेत बिरामीलाई उपचार गर्न नमानेपछि उनीहरूकै सुझावअनुसार अस्थायी कोभिड अस्पताल लगिएको थियो ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शङ्कास्पद कोभिड सङ्क्रमितको रुपमा उपचाररत २० वर्षीया युवतीको राति २ बजे मृत्यु भएपछि त्यहाँ आक्रोश उत्पन्न भएको छ ।

अस्पतालका डा जेपी जयसवालले महिलाको स्बावको नमूना सङ्कलन गरी पीसीआर परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकाले शनिबार साँझसम्म रिपोर्ट आइसक्ने उहाँले बताउनुभयो ।

ती युवतिलाई शुक्रबार एकपछि अर्को गर्दै त्यहाँ पनि कोरोना सङ्क्रमितको मात्र उपचार गरिने भन्दै फर्काएपछि नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकका कोअर्डिनेटर डा उदयनारायण सिंहको सिफारिसमा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा उपचार सुरु गरिएको थियो ।

पछिल्लो समय वीरगञ्जमा बिरामी अस्पतालसम्म लैजान एम्बुलेन्स नै नपाइने भएपछि ईरिक्सामा राखेर बिरामीहरूलाई अस्पतालसम्म पुर्याउने गरिएको छ । बिरामी सिकिस्त देखिएमा कुनै पनि अस्पतालले भर्ना नलिने भएकाले बिरामीलाई एउटा अस्पतालदेखि अर्को अस्पताल लग्दैमा बिरामीको स्वास्थ्य अवस्था अझ बिग्रिएर मृत्युसम्म हुने गरेको छ ।

उपचारको लागि समयमा अस्पताल नल्याइएको र सिकिस्त भएपछि उपचारको लागि एउटा अस्पतालदेखि अर्को अस्पताल लैजाँदालैजाँदै समयमा उपचार हुन नपाई मृत्यु भएको डा सिंह दाबी गर्नुहुन्छ ।

तर, बिरामीको पीडा अर्कै छ । अस्पतालहरूले मानवता नै बिर्सिएर सिकिस्त बिरामीहरूको उपचार नै गर्न छाडेकाले पछिल्ला केही दिनयता मानिसहरूले अकालमा ज्यान गुमाइरहेको वीरगञ्जका स्थानीयबासी बताउछन् ।

यो मात्र पहिलो घटना भने हैन । शुक्रबार पनि वीरगञ्ज–३ छपकैयामा मधुमेह तथा दम रोगका दीर्घरोगी रहेका ७४ वर्षीय वृद्धलाई स्वास लिन गाह्रो भएपछि वीरगञ्जका विभिन्न निजी अस्पताल घुमाउँदै अन्तमा वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा राति साढे १ बजे मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताले बिरामीको उपचार नगरेको गुनासो आएको जनाउँदै अब उप्रान्त बिरामी उपचार नगरी त्यसै फर्काएको पाइएमा सम्बन्धित अस्पताललाई कारबाही गरिने सूचना बिहीबार जारी गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.