अर्थ

नागढुंगा सुरुङमार्गको ६० प्रतिशत काम सम्पन्न

देशको बाँकी भूभागसंग राजधानी काठमाडौं उपत्यकालाई जोड्ने प्रमुख मार्गका रुपमा रहेको नागढुंगामा निर्माणाधीन सुरुङमार्गको ६० प्रतिशत काम सम्पन्न भएको छ ।

जापान सरकारको १६ अर्ब रुपियाँ र घरजग्गा प्राप्तिका लागि नेपाल सरकारको ६ अर्ब गरी कुल २२ अर्ब लगानीमा यो सुरुङ्मार्ग निर्माण भइरहेको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यले आगामी वर्षको साउन अन्त्यतिर यस आयोजनाको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

“आगामी सालको साउन अन्त्यसम्ममा आयोजनाको सबै काम पूरा गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य छ, तर एक दुई महिना तलमाथि हुनसक्छ” उहाँले भन्नुभयो ।

काम सुरु हुनेबित्तिकै कोरोना महामारी सुरु भएका कारण पहिलो लहरमा यस आयोजनाको केही काम गर्न नसकिएको उहाँको भनाइ छ ।

सुरुङमार्ग निर्माणका लागि २०७१ सालमा प्रारम्भिक अध्ययन भई २०७२ मा लगानी सुरक्षित गरिएको थियो । २०७३ मा यसको डिजाइन सुरु भएको थियो ।

२०७५ साउनमा आयोजनाको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भएअनुसार हाज्मा कम्पनी र सडक विभागबीच ठेक्का सम्झौता भएको थियो । सम्झौताबमोजिम जापानको हाज्मा आन्द्रो कम्पनीले आयोजनाको काम गरिरहेको छ ।

२०७६ कात्तिक २८ गतेबाट आयोजनाको काम सुरु भएको थियो । यस आयोजनाको १२ वटा स्ट्रक्चरमध्ये १० वटा सकिएको आयोजना प्रमुख शाक्यले जानकारी दिनुभयो । बाँकी दुईवटा निमार्णको क्रममै रहेको उहाँको भनाइ छ ।

यस्तै, जग्गा प्राप्तिको ८५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा अहिले सुरुङमार्ग निर्माणको क्रममा कमजोर जमिन फेला परेकाले ‘ब्रेक थ्रू’ गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो ।

फ्लाइओभरको चारवटा फाउण्डेसनमध्ये दुई वटाको काम पनि सकिएको छ । सुपरस्ट्रक्चरको काम पनि सम्पन्न भएको छ । ‘दुई वटा फाउण्डेसनको जग्गा प्राप्तिको कारण काम ढिला सुरु भएको हो ।

अहिले बलम्बुमा जग्गा प्राप्ति ८५ प्रतिशत सकियो । अब त्यहाँ बिजुलीका लाइन जाने बित्तिकै फाउण्डेसन सुरु गरिहाल्छौँ’ उहाँले भन्नुभयो ।

आयोजना प्रमुख शाक्यका अनुसार सुरुङमार्ग निर्माणपछि बाटोमा गाडी जाम भएर मानिसलाई धेरै समय कुर्नुपर्ने अवस्था हुँदैन ।

सन् २०१५ मा गरिएको एक अध्ययनले यस खण्डमा यात्रा गर्दा प्रतिव्यक्तिले ४० मिनेट यस बाटोको जाममा बिताउनुपरेको तथ्याङ्क रहेकाले सुरुङमार्ग निर्माण पछि यो समस्या अन्त्य हुने विश्वास छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.