अरुणोदयका शिक्षक र पूर्व विद्यार्थीलाई नेतृत्व विकास कार्यशाला
काठमाडौंको पूर्वी क्षेत्रमा रहेको अरुणोदय माध्यमिक विद्यालयका शिक्षक र पूर्व विद्यार्थीहरुलाई नेतृत्व विकास र समूह निर्माण विषयमा कार्यशाला सम्पन्न गरिएको छ । कोभिड १९ संक्रमणका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालनासहित कार्यशाला सम्पन्न भएको हो ।
हालै गठन गरिएको अरुणोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्यालको सभापतित्व तथा विद्यालयका प्रधानाध्यापक कृणप्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालामा शिक्षक तथा पूर्व विद्यार्थीहरुलाई नेतृत्व विकासका साथै व्यक्तिले जीवनमा सफलता प्राप्त गर्न चाहिने आधारभूत पक्षहरुको जानकारी दिइएको थियो ।
कार्यशालाको सुरुवात गर्दै प्रमुख अतिथि तथा प्रधानाध्यापक नेपालले असल नेतृत्वले नै समाज डोर्याउने हुँदा जो कोहीमा त्यस्तो क्षमता र सिप चाहिने बताउँदै असल नेतृत्व घरघरबाट विकसित भएर समाज हुँदै देशको नेतृत्वमा पुग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालाका प्रशिक्षक कृष्ण कुमार घिमिरेले जीवनमा सफलताका सूत्रहरुको व्याख्या गर्दै हरेक व्यक्ति सफल हुनका लागि तीन कुरामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले दवावका बीच सचेत रहेर मुस्कुराउने अभ्यास नै सफलताको पहिलो कडी भएको अभ्यासगत रुपमै बताउनुभयो ।
व्यक्तिले जीवनमा लिन लक्ष्य नै उसको सफलताका कडी हुने भएकाले हरेक व्यक्तिले आफ्नो जीवनको लक्ष निर्धारण गर्नुपर्ने भन्दै प्रशिक्षक घिमिरेले प्रशिक्षणका क्रममा बाहिरी दुनियाँका अगाडि केही गर्न नसक्ने अवस्थाको शारीरिक वनावट भएकाहरु कसरी विश्वप्रसिद्ध भए भन्ने प्रेरणादायी उदाहरण दिनुभएको थियो ।
प्रशिक्षणमा सहभागीहरुलाई तीन समूहमा विभाजन गरेर विभिन्न अभ्यासहरु र अन्त्यमा १० मिनेट ‘ध्यान’ गराइएको थियो ।