कर्पोरेट/पर्यटन

भारतीय पर्यटकमा कोरोना देखिएपछि नेपाल प्रवेश गर्न रोक

सुदूरपश्चिममा भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आएका चारजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ । उहाँले भन्नुभयो, “सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल घुम्न आउनेहरूको पनि कोरोना परीक्षण गर्ने गरेका छौँ, पोजेटिभ देखिएमा भारततिरै फर्काउने गरिएको छ ।”

यसैबीच बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको छ । भारतसँग सीमा जोडिएको झुलाघाट नाका भएर फर्कने अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको हो ।

झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर उक्त नाकाबाट स्वदेश फर्कनेहरूको एन्टीजेन परीक्षण गर्ने गरिएको र परीक्षण गरिएका अधिकांशमा कोरोना पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । साउन पहिलो सातासम्म कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको बैतडीमा अहिले ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमण पुष्टि भएकाहरू समेत सिधै घर जाने भएकाले समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । स्वास्थ्यका मापदण्ड पालना नगर्दा झन् जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जोखिम बढ्दै गएकाले पूर्वतयारीस्वरुप समेत थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।

विपद् व्यवस्थापन समितिको बैठक बसालेर जिल्लामा पूर्वतयारी थाल्न निर्देशन दिइएको हो । जिल्ला अस्पतालमा आइसियुसहितका आइसोलेसन सेन्टर, सबै स्थानीय तहमा होल्डिङ सेन्टर, आइसोलेसन, क्वारेन्टिन निर्माण, कोरोना कोष स्थापना, एम्बुलेन्स तयारी अवस्थामा राख्न, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउनेलगायत निर्णय गरिएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म तीन हजार तीनसय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमणकै कारण १९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.