कर्पोरेट/पर्यटन

पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता

पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ ।

पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको पनि विशेष रोजाइमा प¥यो । सायद महिनौँदेखि घरमै थुनिएर बस्नु परेका नेपालीहरु बन्दाबन्दी खकुलो भएसँगै राम्रोसँग रमाउन चाहेर पनि हुनसक्छ, पोखरा आएका धेरैले प्लाराग्लाइडिङ नै रोजेका थिए ।

पोखराको पर्यटनलाई चलायमान बनाउन पनि यसले निकै सहयोग पुर्यायो । कम्पनीले ५० देखि ६० प्रतिशत छुटसहित दैनिक पाँच सयदेखि सात सय उडानले पोखराको आकाशलाई रङ्गीन बनाएको थियो भने आन्तरिक पर्यटक बढ्दा व्यवसायीमा पनि बन्दपछिको अवस्थामा केही आशा पलाएको थियो ।

यतिबेला पोखराको पर्यटन फेरि कोरोना भाइरसको नयाँ प्रजातिका कारण क्षेत्र ठप्प छ । पर्यटन व्यवसायीहरु सहज खोप र पर्यटनमैत्री नीति ल्याएर यस क्षेत्रका व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् । यसैबीच पोखराको क्षेत्रीय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा यस क्षेत्रका प्याराग्लाइडिङ व्यवसायीहरु व्यवसायको भविष्य खोज्दै निरन्तरताको खोजीमा जुटेका छन् ।

सन् २०१७ मा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रारम्भ भएदेखि नै पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान निरन्तरता हुन सक्छ कि सक्दैन भन्ने विषयले चर्चा पाएको थियो । अहिले विमानस्थलको काम करिब ८२ प्रतिशत सम्पन्न भइसकेको छ ।

भविष्यमै सञ्चालनमा आउन लागेको विमानस्थलका कारण वर्षौंदेखि सञ्चालन भइरहेको प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने अवस्था आउने त होइन भन्ने चिन्ता यतिबेला व्यवसायीमा देखिएको छ ।

यसैबीच हवाई खेलकुद संस्था (ना) को टोलीले केही दिनअघि विमानस्थलको अवलोकन गरेर व्यवस्थापनसमक्ष प्याराग्लाइडिङ व्यवसायीका संस्थागत धारणाहरु राखेको छ । संस्थाका अध्यक्ष कृष्ण भण्डारीले पोखराको साहसी खेलका रुपमा ब्रान्डिङ भएको प्याराग्लाइडिङलाई उच्चतम प्रविधि र व्यवस्थापनमा जोड दिएर सोही स्थानबाट निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही प्राविधिक कुराहरु देखाइएको छ तर उच्च प्रविधिको प्रयोगसँगै व्यवस्थापन गर्न सक्यो भने उडान असम्भव छैन, सिङ्गापुरमा प्रत्येक सेकेन्डमा हवाई उडान सम्भव छ भने यहाँ यी कुराहरु व्यवस्थापन गर्न असम्भव छैन ।”

उहाँले नेपालकै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल विश्वकै जोखिमयुक्त विमानस्थलमध्ये एक नम्बरमा रहे पनि कुशल व्यवस्थापनका कारण सुरक्षाको प्रत्याभूतका साथ सञ्चालन भइरहेको उदाहरण दिनुभयो । “नागरिक उड्डयन प्राधिकरणले पनि कुशल व्यवस्थपनमा जोड दिन सके विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्दैन”, भण्डारीले भन्नुुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.