भाडा नबढाए भदौ १ देखि पेट्रोलियम पदार्थ ढुवानी रोक्ने चेतावनी
नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले ढुवानी भाडा वृद्धिको माग राखी पुनः आन्दोलन घोषणा गरेका छन् । उनीहरुले भदौ १ गतेभित्र भाडा वृद्धि नगरिए ढुवानी नै रोक्ने चेतावनी समेत दिएका छन् ।

ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्व सहमति नेपाल आयल निगमले पालना नगरेको भन्दै पुनः आन्दोलन घोषणा गरेको हो ।
महासंघका अध्यक्ष खगेश्वर बोहोराले एक विज्ञप्ति जारी गरी भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने बताउनुभयो ।
महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्ने गरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।
गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् ।
प्रतिक्रिया राख्नुहोस्