जन सरोकार

मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत–जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ ।

श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई ‘श्रावणी’ स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिएको छ ।

आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रुपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा लिइन्छ ।

आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाईलाई राखी बाँधेर मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाईकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यस अवसरमा आज काठमाडाैँको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लागेको छ ।

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुन्हु पुन्ही भनी मनाएका छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरी संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गरेका छन् ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्माबलम्वीले भने आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललित बिस्तरमा यससम्बन्धी विस्तृतरुपमा व्याख्या गरिएको छ । यसैकारण आज स्वयम्भूमा पनि विशेष मेला लागेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.