जन सरोकार

संस्कृत दिवसलाई राष्ट्रसंघमा पुर्याउन सरकारसंग माग

प्रा डा दीर्घराज घिमिरेलाई ‘संस्कृत विशेष सम्मान’, पाँचजनालाई एक लाख रुपैयाँको शोधबृत्ति प्रदान

संस्कृत भाषाका विद्वानहरुले संस्कृत भाषाको जननी भएकोले यसको संरक्षण र संवद्र्धनका लागि नेपालमा औपचारिक मान्यताको निर्णय गर्न र यसलाई वैश्विक मान्यताका लागि संयुक्त राष्ट्रसंघ समक्ष पनि पेस गर्न माग गरेका छन् ।

२०७५ सालदेखि प्रत्येक वर्षको श्रावण पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउने क्रममा शुक्रबार राजधानीमा आयोजित संस्कृति दिवस तथा सम्मान र शोधबृत्ति प्रदान कार्यक्रममा वक्ताहरुले सो माग गर्नुभएको हो ।

कार्यक्रममा संस्कृत भाषाको क्षेत्रमा विशेष योगदान गर्नुभएका नेपाल संस्कृत विश्वविद्यालयका प्राडा दीर्घराज घिमिरेलाई ‘संस्कृत विशेष सम्मान’ प्रदान गरिएको छ ।

पाँचौँ विश्व संस्कृत दिवसको अवसरमा शुक्रबार वाल्मीकि विद्यापीठमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले सम्मानपत्र तथा दोसल्ला ओढाएर उहाँलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा ढुङ्गेलले विश्व संस्कृत दिवस जस्तो कार्यक्रम निरन्तर आयोजना हुनु सुखद् भएको बताउँदै यसले लिएको उद्देश्य प्राप्ति हुने विश्वास व्यक्त गर्नुभयो । पाँचौ विश्व संस्कृत दिवसको अवसरमा ‘संस्कृत विशेष सम्मान’बाट सम्मानित व्यक्तित्व प्राडा घिमिरेले मिमांसा दर्शनमा धर्मको स्वरूपको विषयमा प्रवचन दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई रु एक लाख राशिको ‘आरुणि संस्कृत शोधवृत्ति’ पनि प्रदान गरिएको छ । कार्यक्रमका सभापति तथा विश्व संस्कृत दिवसका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारी तथा युगनिर्माण महिला समाज नेपालका उपाध्यक्ष चाँदनी विकले संयुक्तरूपमा रु एक लाखको चेक हस्तान्तरण गर्दै शोधवृत्ति प्रदान गरिएको हो ।

दिवसकै अवसर पारेर शोधवृत्ति प्राप्त गर्नुभएका तिमिल्सिनाद्वारा संस्कृत भाषामा अनुवाद एवं सम्पादन गरिएको पुस्तक ‘राज्यराष्ट्रम्’ को लोकार्पण पनि गरिएको थियो । पुस्तकका मूल लेखक डा निर्मलमणि अधिकारी, डा गोविन्दशरण उपाध्याय र सुशील गौतम हुनुहुन्छ ।

कार्यक्रममा अधिकारीले प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणीका अवसरमा विश्व संस्कृत दिवस भनेर नेपालमा औपचारिक मान्यताको निर्णय गर्न र यसलाई वैश्विक मान्यताका लागि संयुक्त राष्ट्रसङ्घ समक्ष पनि पेश गर्न सरकारसँग माग गर्नुभयो ।

दिवस कार्यपरिषद् संयोजक सह प्रा डा माधवप्रसाद पाण्डेयले अधिकारीको अगुवाईमा प्रतिष्ठानले दिवस मनाउन आह्वान गरेको बताउँदै संस्थाले भविष्यमा पनि संस्कृत भाषालाई प्रवद्र्धन गर्ने विभिन्न कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सनातन धर्म महासङ्घका अध्यक्ष डा माधवप्रसाद लामिछाने, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकाल, जयतु संस्कृतम्का महासचिव डा नवराज कट्टेल, काठमाडौँ विश्वविद्यालय भाषा तथा आमसञ्चार विभाग डा रामचन्द्र पौडेल, त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र कलेज दर्शन शास्त्र विभागका डा गोविन्दशरण उपाध्याय, इन्टरनेसनल फेडेरेसन अफ सनातन धर्मका प्रा डा अजय रिसाल, सहृदयता समाज नेपालका अध्यक्ष आचार्य तिलकप्रसाद लुईंटेल, प्रा डा जीवन अधिकारी, वाल्मीकि विद्यापीठका उपप्राध्यापक माधवप्रसाद घिमिरे, हिमवत् आर्ष प्रज्ञाका अध्यक्ष कल्पना सेवानी घिमिरे, डा मुकुन्दप्रसाद लामिछने, संस्कृत केन्द्रीय विभागका गोविन्द घिमिरे (आकाशनीलम्), श्यामकृष्ण सुवेदी, जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष बलराम प्रजापतिले पनि संस्कृत भाषाको संरक्षण र प्रवद्र्धनका लागि सरकारले नै ठोस कमद अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

दिवसको मूल समारोहको आयोजनामा नेपालबाट नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठ, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, जरो किलो प्रतिष्ठान नेपाल, जयतु संस्कृतम् संस्थाको सहकार्य रहेको छ ।

यसै गरी सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाज नेपाल, युगनिर्माण महिला समाज नेपाल, राष्ट्रिय हिन्दू एकता मञ्च र हिमवत् आर्ष प्रज्ञा पनि आयोजक समूहमा रहेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रबाट इन्टरनेशनल फेडेरेशन अफ सनातन धर्म, सहृदयता इन्टरनेशनल युएसए र नेपाली हिन्दू फोरम बेलायत लगायतका संस्था पाँचौँ विश्व संस्कृत दिवसका आयोजक रहेका छन् ।

प्रत्येक वर्ष तिथिअनुसार श्रावण पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि भएको हो ।

यस वर्ष दिवस नेपाललगायत करिब ३० देशमा साउन २६ गतेदेखि पाँच दिनसम्म लगाताररूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मनाइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.