जल/वातावरण

८७ दिनमा १०० जनाको कोरोना संक्रमणबाट मृत्यु (मृतकको विवरणसहित)

गत जेठ महिनामा सिन्धुपाल्चोक राम्चे गाउँकी सुत्केरी महिलाको मृत्युपछि उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । काठमाडौको त्रिवि शिक्षण अस्पतालमा शिशु जन्म दिएर घर फर्केकी उनको धुलिखेल अस्पतालमा उपचारपछि निधन भएयता साउन ३० गतेसम्म आइपुग्दा १०० जनाको ज्यान गैसकेको छ ।

विश्वमा कोरोनाले महामारीको रुप लिइसक्दा नेपाल निर्धक्कसंग खुला थियो । तर चैत्रमा आइपुग्दा केही संक्रमितहरु भेटिन थालेपछि र छिमेकी मुलुक भारतले लकडाउन गरेसंगै नेपालको लकडाउन र स्वदेश फर्कनेहरुको भीडसंगै कोरोना संक्रमित बढ्न थाले ।

तराईका सीमावर्ती क्षेत्रसंगै उपत्यका र पहाडी क्षेत्रमा समेत कोरोना संक्रमितहरु भेटिने क्रमसंगै मृत्यु हुनेहरुको संख्याा पवनि क्रमशः बढ्दै जाँदा साउन ३० गतेसम्म आइपुग्दा दैनिक रुपमा मृतकको संख्या बढिरहेको छ ।

यसबीचमा १०० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । यहाँ सेतोपाटी अनलाइनले सार्वजनिक गरेको जेठ ३ गतेदेखि साउन ३० गतेसम्म मृत्यु भएका १०० जनाको विवरण साभार गरिएको छ-

१) जेठ ३ः नेपालमा कोरोनाका कारण पहिलो मृत्यु, सिन्धुपाल्चोक, वर्ष २९, महिला

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको थियो। ९ दिनकी सुत्केरी मृतक महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। उनलाई आकस्मिक कक्षमा लाँदालाँदै मृत्यु भएको हो।

ती महिलाले वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिस्चार्जपछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन्। पछि उनलाई श्वासप्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो। कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो।

उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

२) जेठ ४ः बाँके, वर्ष २९, पुरुष

वैशाख ३० मा भारतको मुम्बईबाट आएर बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको मृत्यु भएको थिइ। बिहान एक्कासि स्वास्थ्य असामान्य भएपछि उनको क्वारेन्टिनमै मृत्यु भएको थियो। बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो।

कोरोनाका कारण भएको यो दोस्रो मृत्यु थियो। उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

३) जेठ ७ः गुल्मी, वर्ष ४१, पुरुष

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका ४१ वर्षीय शिक्षकको रुपन्देही, तिलोत्तमास्थित क्रिमसन अस्पतालमा मृत्यु भएको थियो। उनलाई ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।

४) जेठ १२ः वीरगन्ज, वर्ष ७०, पुरुष

बाराको करैयामाई गाउँपालिका-७ का ७० वर्षीय वृद्धको वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो। उनलाई मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

५) जेठ १४ः ललितपुर, वर्ष ५७, पुरुष

ललितपुर, बुंगमतीका ५७ वर्षीय पुरुष कलेजोका बिरामी थिए। ११ गते अस्पताल भर्ना भएका उनको १४ गते मृत्यु भयो। उनी नेपालमा कोरोनाबाट मृत्यु हुनेको पाँचौं व्यक्ति हुन्।

६) जेठ १६ः अर्घाखाँची, वर्ष ३५, पुरुष

जेठ १० गते भारतबाट नेपाल आउने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषलाई नेपालमै मृत्यु भएको संख्यामा समावेश गरिएको हो। उनको मृत्युपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो। मृतक अर्घाखाँचीको भुमिकास्थान-९ निवासी हुन्। उनी भारतमा मजदुरी गर्दै आएका थिए।

७) जेठ १७ः दैलेख, वर्ष ३५, पुरुष

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवक भारतबाट फर्किएका थिए। दस दिन क्वारेन्टाइन बसेका उनको बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा मृत्यु भएको थियो।

उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

८) जेठ १८ः बाजुरा, वर्ष २, बालिका

बाजुराकी दुई वर्षीया बालिकाको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। उनी आफ्नी आमासँगै बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा थिइन्। ती बालिका आमाबुवासँग भारतको नयाँदिल्लीबाट आएकी थिइन्।

बालिकामा ज्वरो, झाडापखाला, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको थियो।

९) जेठ २१ः काठमाडौं, वर्ष ७६, पुरुष

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो। दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो।

उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति टिचिङ ल्याइएको थियो। उनको न्यूरो सर्जरी समेत गरिएको थियो।

संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो। तर जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो।

१०) जेठ २२ः पाल्पा, वर्ष ४५, पुरुष

पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषको जेठ २० गते नै मृत्यु भए पनि २२ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।

क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई पाल्पास्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो। ती पुरूषमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।

११) जेठ २३ः सुर्खेत, वर्ष २०, पुरुष

भारतबाट आएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवक १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। घर फर्किएकै राति उनको मृत्यु भएको थियो। कोरोनाका कारण यो नेपालमा दसौं मृत्यु थियो।

१२) जेठ २४ः डोल्पा, वर्ष ५८, पुरुष

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।ती पुरूष सुर्खेत बस्दै आएका भए पनि जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए। घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते उनको मृत्यु भएको थियो।

मृत्यु भएको दुई दिनपछि उनको स्वाब परीक्षण पठाइएको थियो र जेठ २४ गते नतिजा आएको हो।उनी दमका रोगी थिए।

१३) जेठ २४ः धनगढी, वर्ष ५५, महिला

धनगढीकी ५५ वर्षीया महिलाको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो।

१४) जेठ २६ः पोखरा, वर्ष ६०, पुरुष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा, वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको थियो। उनी मिर्गौला, मधुमेह लगायतका रोगको बिरामी थिए।

१५) जेठ २७ः चितवन, वर्ष ६८, पुरुष

चितवनको भरतपुर अस्पतालमा कोरोना उपचार गराइरहेका भरतपुर नगरपालिका-११ बस्ने ६८ वर्षका पुरूष मृत्यु भएको थियो। मृतकलाई सुगर तथा प्रेसरको समस्या थियो। पछि भने उनको कोरोना र निमोनियाका कारण मृत्यु भएको थियो।

१६) जेठ २९ः अर्घाखाँची, वर्ष ५७, पुरुष

अर्घाखाँचीको क्वारेन्टिनमा बिरामी परी मृत्यु भएका एक पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको थियो। अर्घाखाँची मालारानी गाउँपालिका-४ निवासी ५७ वर्षीय मृतकको बुटवलबाट उपचार गरेर फर्कने क्रममा बाटोमै मृत्यु भएको थियो। मृतक भारतबाट आएका थिए। आउनासाथ उनलाई गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो।

पछि उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्राथमिक उपचारका लागि अर्घाखाँची अस्पताल पुर्याइएको थियो। अस्पतालले सोही रात उनलाई बुटवल रेफर गरेको थियो। उपचार गरेर घर फर्किने क्रममा पुरुषको बाटोमै निधन भएको थियो।

१७) जेठ ३०ः वीरगन्ज, वर्ष २५, पुरुष

वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका २५ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको थियो।

१८) जेठ ३१ः बारा, वर्ष ५, बालक

बारा, निजगढका ५ वर्षीय बालकको वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएको थियो। मृत्युपश्चात कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।

बालकलाई निमोनियाको समस्या देखिएपछि परिवारले सुरूमा निजगढस्थित सामुदायिक अस्पताल लगेका थिए। पछि अवस्था जटिल भएपछि अस्पतालले वीरगन्ज रिफर गरिदिएको थियो। अस्पतालमा भर्ना भएका उनलाई पछि स्वासप्रस्वासमा पनि समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो। तर सोही क्रममा बालकको मृत्यु भएको हो।

१९) जेठ ३२ः गुल्मी, वर्ष ३६, पुरुष

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको भारतबाट आएका थिए। धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेको बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो। त्यसलगत्तै थप उपचारको लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेसनमा लगिएको थियो।

उनी दुई वर्षदेखि क्यान्सर र पायल्सको समेत रोगी थिए। उनलाई थप उपचारको लागि बुटवल लैजानुपर्ने भने पनि उनले जान अस्विकार गरेपछि उनलाई तम्घासमै राखिएको थियो।

२०) असार ३ः बाँके, वर्ष ४६, महिला

बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी ४६ वर्षीय महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। बैजनाथ गाउँपालिका वडा नम्बर ६ कि बासिन्दा ती महिला जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन्। उनी मिर्गौलाकी बिरामी थिइन्।

२१) असार ३ः बाँके, वर्ष ४३, महिला

कैलालीको लम्कीचुवा नगरपालिका-२ निवासी ४३ वर्षीया महिलामा न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो। उनको मृत्युपछि मात्र रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो।

२२) असार ३ः सुर्खेत, वर्ष २५, महिला

सुर्खेतमा असार १ गते आत्महत्या गरेकी महिलाको कोरोना परीक्षण गरिएको थियो। असार ३ गते उनको रिपोर्ट आएको थियो। उनी आफ्ना श्रीमान र छोरीसहित भारतबाट आएर क्वारेन्टिन बसेर फर्केकी थिइन्।

२३) असार ३ः धनगढी, वर्ष ४६, पुरुष

गोदावारी नगरपालिका-४ निवासी ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो। उनमा गत जेठ ३२ गते संक्रमण पुष्टि भएको थियो। सुरूमा धनगढीको एक निजी अस्पतालमा भर्ना भएका उनलाई संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो।

उनी पेसाले बस चालक थिए। उनले नाकाबाट मानिसलाई क्वारेन्टिन स्थलसम्म बसमा पुर्‍याउने काम गरेका थिए। सुरूआतमै उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।

२४) असार ६ः गुल्मी, वर्ष ६९, पुरुष

गुल्मीमा होम-क्वारेन्टिनमा बसेका बेला मृत्यु भएका ६९ वर्षीय पुरूषमा करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आएका थिए। होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको मृत्युपछि कोरोना पोजेटिभ देखिएको थियो।

मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै रेखदेख गर्ने गरी राखिएको थियो।

२५) असार ९ः दैलेख, वर्ष ४५, पुरुष

कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका दैलेख, दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको क्षयरोगका बिरामी थिए। असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका उनमा ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना देखिएपछि कोरोना विशेष अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो।

२६) असार ११ः पोखरा, वर्ष ५५, पुरुष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आयईसियूमा उपचाररत स्याङ्जा, सिरूवारी निवासी ५५ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको थियो। मृतकलाई असार ८ गते आइसियूमा भर्ना गरिएको थियो। ती पुरूष कोरोनासहित निमोनिया तथा मधुमेहबाट पीडित थिए।

२७) असार ११ः ललितपुर, वर्ष ४९, पुरुष

ललितपुरको पाटन अस्पतालमा उपचार क्रममा ४९ वर्षीय पुरुषको मृत्यु भएको थियो। काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन थियो। उनले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।

२८) असार १२ः दाङ, वर्ष ३५ (अन्दाजी), महिला

दाङमा सडकमा मागेर हिँड्ने अन्दाजी ३५ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो। घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकमा बस्दै आएकी उनको मृत्यु भएको दुई दिनपछि कोरोना पुष्टि भएको हो।

ती महिलालाई प्रतिष्ठानको गेट नजिकैको ट्राफिक चोकबाट उद्धार गरी उपचारको लागि प्रतिष्ठानमा लगिएको थियो।

२९) असार १३, चितवन, वर्ष ५०, पुरुष

क्यान्सर पीडित कैलालीको गोलावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा उपचाररत क्रममा मृत्यु भएको थियो। मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए।

३०) असार १५ः ललितपुर, वर्ष २९, पुरुष

ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका २९ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको थियो।

उनलाई सास फेर्न समस्या भएर अस्पताल गएका थिए। कोरोना शंका गरेर भेन्टिलेटरमा उपचार गरी स्वाब निकालेर पिसिआर परीक्षका लागि पठाइएको थियो। उनको मृत्युपछि आएको रिपोर्टमा कोरोना देखिएको थियो। मृतकमा पहिलेदेखि छातीको समस्या थियो। केही दिनयता सास फेर्न समस्या भएपछि उनी एम्बुलेन्समा रौतहटबाट काठमाडौं आएका थिए।

३१) असार १६ः अछाम, वर्ष ४५, पुरुष

चार दिन क्वारेन्टिन बसेर घर फर्किएको एक हप्तापछि अछाम, रामारोशन गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो।

घर फर्किएको एक हप्तापछि उनको स्वास्थ्यमा समस्या आएपछि गाउँपालिकाको स्वास्थ्य टोलीले एम्बुलेन्समार्फत् मंगलसेन अस्पताल लगेको थियो। मंगलसेन अस्पतालमा बेड खाली नभएको भन्दै उनलाई साफेंवगरस्थित बयालपाटा अस्पतालमा पठाएको थियो।

सास फेर्न समस्या, पखाला लागिरहने, खोकी लागिरहने जस्ता लक्षण देखिएपछि बयालपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो। मृतक जेठ २७ गते त्रिनगर भन्सार नाका हुँदै नेपाल भित्रिएका थिए।

३२) असार १८ः काठमाडौं, ४५ दिनको शिशु

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् ४५ दिने शिशुको कोरोना भाइरसका कारण मृत्य भयो। शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। यो दिनसम्म ज्यान गुमाएकामध्ये उनी सबैभन्दा कम उमेरका संक्रमित थिए।

३३) असार १९ः काठमाडौं, वर्ष ८५, पुरुष

रूपन्देही देवदह स्थायी घर भएका ८५ वर्षीय वृद्धकाे कोरोनाका कारण काठमाडौंमा मृत्यु भयो। नयाँ बानेश्वर बस्दै आएका उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो। उनी क्षयरोगका बिरामी पनि थिए। उनको मृत्यु असार १७ गते नै भए पनि १९ गते मात्र कोरोना पुष्टि भएको थियो।

३४) असार २०ः गोरखा, वर्ष ४४, पुरुष

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूष असार १७ गते कतारबाट नेपाल आएका थिए। लगत्तै उनी पालुङटारस्थित क्वारेन्टिनमा बसेका थिए। पछि खोकीलाग्नेजस्ता समस्या देखिएपछि उनलाई गोरखा अस्पतालको आइसोलेसनमा लगिएकोमा थियो। मधुमेह र निमोनियाका बिरामी उनको कोरोनाका कारण मृत्यु भएको थियो।

३५) असार २१ः बागलुङ, वर्ष २९, पुरुष

बागलुङको क्वारेन्टिनमा मृत्यु भएका २९ वर्षीय पुरुषको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। उनी केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका थिए। लामो समयदेखि भारत बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

३६) असार २३ः ललितपुर, वर्ष २६, पुरुष

पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय पुरुषलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए। अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल रिफर गरेको थियो।

३७) असार २७ः काठमाडौं, वर्ष ५४, पुरुष

काठमाडौंको सिनामंगलस्थित केएसमी अस्पतालमा उपचाररत ५४ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको थियो। मिर्गौलाका बिरामी रहेका उनको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको थियो।

काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ घर भएका उनी असार १९ गते अस्पताल भर्ना भएका थिए। भर्ना हुँदा नै उनको अवस्था गम्भीर थियो।

३८) असार २७ः काठमाडौं, वर्ष ६०, पुरुष

काठमाडौं शंखमुलका ६० वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनी फोक्सो र मिर्गौलाका बिरामी थिए। असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकोमा असार १७ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो।

३९) असार २७ः सिन्धुपाल्चोक, वर्ष ४५, पुरुष

सिन्धुपाल्चोक पाँचपोखरी वडा नम्बर ६ का ४५ वर्षीय पुरूष क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका थिए। ती पुरूषमा असार २२ गते कोरोना पोजेटिभ देखिएको थियो।

४०) असार ३१ः रौतहट, वर्ष ३६, पुरुष

रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको थियो। उनी असार २९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आइसियूमा भर्ना भएका थिए।

स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएका उनी भारतमा रहेका आफ्ना दाइको अन्तिम संस्कार गर्न बैंगलुरू गएर आएका थिए। नेपाल फर्की उनी रौटहटको परूवा नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए।

४१) साउन २ः राजविराज, वर्ष ७३, पुरुष

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको थियो। मुटुका बिरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएको थियो। त्यसपछि अस्पतालले आकस्मिक कक्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

४२) साउन ७ः महोत्तरी, वर्ष ६४, पुरुष

कोरोनाको संक्रमणबाट महोत्तरीको महोत्तरी गाउँपालिकाका ६४ वर्षीय पुरुषको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो। क्यान्सरका रोगी उनी चौथो स्टेजमा थिए। मृतक आफ्नो छोरीको घर भारत गएर फर्केका थिए।

४३) साउन ७ः काठमाडौं, वर्ष ४८, चिनियाँ महिला

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो। उनी मृत्यु हुनु अघिल्लो साँझ हृदयाघात भएर अस्पताल भर्ना भएकी थिइन्। भोलिपल्ट बिहानै उनको मृत्यु भयो। उनको मृत्यु पनि मुटुको धड्कन गडबड हुँदा भएको उपचारमा खटिएका डाक्टरले बताएका छन्।

मृतक ४८ वर्षीया महिलालाई सुरूमा ग्रान्डी अस्पताल भर्ना गरिएको थियो। हृदयघात भएपछि टिचिङ पुर्‍याइएको थियो। मृतक महिला बिरामी पर्नुअघि पोखराको लेकसाइड बसेर फर्किएकी थिइन्। यति बेलासम्म नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना थियो।

४४) साउन ८ः वीरगन्ज, वर्ष ७०, पुरुष

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् वीरगन्ज निवासी ७० वर्षीय वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मृत्यु भयो। मृतकलाई सुरूमा स्वासप्रस्वासमा समस्या देखिएपछि एड्भान्स अस्पताल भर्ना गरिएको थियो। अस्पतालले कोरोना आशंकामा उनलाई गण्डक अस्पताल रिफर गरेको थियो।

४५) साउन ९ः वीरगन्ज, वर्ष ८५, महिला

वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ८५ वर्षीया वृद्धाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो। मुटु रोगी समेत रहेकी उनको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो। उनमा निमोनियाको समेत समस्या देखिएको थियो।

बिहीबार मात्र गण्डक अस्पतालमै मृत्यु भएका एक वृद्धको पछि कोरोना पुष्टि भएको थियो।

४६) साउन ९ः वीरगन्ज, वर्ष १७, महिला

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमित १७ वर्षीया किशोरीको मृत्यु भएको थियो। बारा परवानिपुर वडा नम्बर ८ निवासी युवतीलाई सुरूमा वीरगन्जस्थित हेल्थ केयरमा भर्ना गरिएको थियो। उनमा पखला, श्वासप्रश्वासका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पछि कोरोना पुष्टि भएर उनलाई गण्डक अस्पताल रिफर गरिएको थियो।

४७) साउन ११ः वीरगन्ज, वर्ष ६५, पुरुष

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। वीरगन्जमा पसल गर्दै आएका उनी ज्वरो र खोकीले थलिएका थिए। सुरूमा उनलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। पछि त्यहाँबाट कोरोना परीक्षणको लागि स्वाब दिएर उनलाई वीरगन्ज हेल्थ केयरमा लगिएको थियो। त्यहाँ आरडिटी परीक्षण गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि गण्डक अस्पताल ल्याइएको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भयो। मृतक मुटु र मधुमेहका रोगी थिए।

यति बेलासम्म नेपालमा कोरोनाबाट विदेशी नागरिको मृत्यु भएको यो दोस्रो घटना थियो। यसअघि टिचिङ अस्पतालमा चिनियाँ महिलाको मृत्यु भएको थियो।

४८) साउन १२ः धनुषा, वर्ष ३८, पुरुष

धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपी कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। उनलाई करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएको थियो। संक्रमित उनमा कुनै प्रकारको दीर्घ रोग देखिएको थिएन।

४९) साउन १३ः बझाङ, वर्ष ६५, पुरुष

बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो। उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो। पछि परीक्षणको नतिजा आउँदा उनमा कोरोना पोजेटिभ देखियो।

दमका समेत रोगी रहेका उनी असार २४ गते भारतको बैङ्गलोरबाट आएका थिए। १४ दिनको क्वारेन्टिन बसाइपछि घर गएका थिए। तर साउन ९ गते उनको घरमा मृत्यु भयो।

५०) साउन १४ः पर्सा, वर्ष ७०, पुरुष

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय पुरूषलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनी मिर्गौलाका रोगी समेत थिए।

५१) साउन १४ः पर्सा, वर्ष ६५, पुरुष

गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको थियो। उनमा मुटुको समस्या थियो। साउन ८ गते नै अस्पताल भर्ना भएका उनको त्यही क्रममा कोरोना पुष्टि भयो।

५२) साउन १४ः मोरङ, वर्ष ४५, पुरुष

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनलाई अस्पताल ल्याउँदा नै निमोनियाको समस्या थियो।

५३) साउन १६ः वीरगन्ज, वर्ष ६५, पुरुष

वीरगन्जस्थित जगदम्बा इन्टरप्राइजेजका सिइओ ६५ वर्षीय मृतक भारतीय नागरिक थिए। साउन ७ गते संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए। अक्सिजन कमी भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। सोही क्रममा उनको मृत्यु भएको हो।

५४) साउन १६ः वीरगन्ज, वर्ष ३५, पुरुष

वीरगन्जका ३५ वर्षीय पुरुषलाई केही दिनदेखि ज्वरोको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो।

५५) साउन १६ः वीरगन्ज, वर्ष ७५, पुरुष

वीरगन्जका ७५ वर्षीय वृद्धको घरमै मृत्यु भएको थियो। पछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

५६) साउन १६ः ललितपुर, वर्ष ६५, महिला

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो। आइसियूमा उपचाररत उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो। मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी योबीचमा वीरगन्जबाट आएकी थिइन्।

त्यसपछि स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। उनमा निमोनियाको समस्या थियो।

५७) साउन १७ः वीरगन्ज, वर्ष ५०, महिला

वीरगन्ज-१६ निवासी ५० वर्षीया महिलाको वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो। पछि पिसिआर नतिजा आउँदा उनमा संक्रमण पोजेटिभ देखिएको हो। उनलाई निमोनियाको समस्या थियो।

५८) साउन १७ः वीरगन्ज, वर्ष ६८, महिला

निमोनियाको समस्या भएकी वीरगन्ज-१६ निवासी ६८ वर्षीया महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो।

५९) साउन १९ः विराटनगर, वर्ष ७७, पुरुष

विराटनगरस्थित कोसी अस्पतालमा ७७ वर्षीय वृद्धको मृत्यु भएको थियो। अस्पताल भर्ना भएकै दिन मृत्यु भएका उनमा ज्वरो, छाती दुख्ने र स्वासप्रस्वासको समस्या थियो। उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो। मृतक मधुमेह र रक्तचापका रोगी थिए।

६०) साउन २१ः पर्सा, वर्ष १८, महिला

पर्सा पोखरियाकी १८ वर्षीया किशोरीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई पोखरिया अस्पतालबाट नेसनल मेडिकल कलेज रिफर गरिएको थियो। उनमा वान्ताको समस्या भएपछि पोखरिया अस्पतालले नेसनलमा रिफर गरेको थियो। नेसनल अस्पतालले उनलाई ल्याउँदा ल्याउँदै मृत्यु भएको घोषणा गरेको थियो।

उनमा पहिले कुनै पनि रोग नभएको बताइएको छ।

६१) साउन २१ः वीरगन्ज, वर्ष ४६, पुरूष

वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत् ४६ वर्षीय पुरुष वीरगञ्ज-१५ निवासी थिए। उनलाई ज्वरो र खोकीको समस्या देखिएको थियो। त्यसपछि परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखियो। लगत्तै उनी वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका थिए। अस्पतालमै उनको मृत्यु भयो।

६२) साउन २१ः सर्लाही, वर्ष ६५, महिला

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको मृत्यु भएको थियो। मृतकलाई ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो।

मनमोहनमा उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनमा संक्रमण देखिएपछि बलम्बुस्थित एपिएफ अस्पतालमा रिफर गरिएको थियो। उनलाई त्यहाँ पनि भेन्टिलेटरमै राखेर उपचार गरिएको थियो।

६३) साउन २१ः मोरङ, वर्ष ४५, पुरुष

मोरङ रंगेलीका ४५ वर्षीय पुरूषको कोसी अस्पताल, विराटनगरमा मृत्यु भएको थियो। उनलाई अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको थियो। परिवारले श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनको कोरोना परीक्षण गरिएको र पोजेटिभ देखिएको थियो।

६४) साउन २१ः मोरङ, वर्ष ४५, पुरुष

विराटनगर महानगरपालिका-९ निवासी ४५ वर्षीय पुरुषको कोसी अस्पताल, विराटनगरमा मृत्यु भएको थियो। उनको मृत्युपछि कोरोना परीक्षण गरिएको र पोजेटिभ देखिएको थियो। उनमा श्वासप्रश्वास, छाती दुख्ने र पखालाको समस्या देखिएको थियो। सुरूमा आकस्मिक कक्षमा उपचार गरेपछि उनलाई पछि आइसोलेसनमा सारिएको थियो। उनमा मधुमेह र जन्डिसको समस्या पनि थियो।

६५) साउन २१ः पर्सा, वर्ष ४६, पुरुष

पर्सामा साउन २१ गते ४६ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

६६) साउन २२ः सप्तरी, वर्ष ४५, पुरुष

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रूपनी गाउँपलिका- ५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मृत्यु हुनुभन्दा ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए। एक्कासि ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरान विपी अस्पताल रिफर गरिएको थियो। धरान लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।

६७) साउन २२ः वीरगन्ज, वर्ष ४५, पुरुष

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना पुष्टि भएको थियो। ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्तपाल भर्ना गरिएको थियो। सुरूमा आकस्मिक कक्षमा उपचार गरिए पनि पछि उनलाई अक्सिजनको कमी भएपछि भेन्टिलेटरमा राखिएको थियो। मृतक मुटु र मधुमेहका बिरामी समेत थिए।

उनी वीरगन्ज बजारमै पसल गर्दै आएका थिए।

६८) साउन २२ः काठमाडौं, वर्ष ७२, महिला

काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएकी ७२ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। धनुषाकी उनलाई पाँच दिनअघि स्वासप्रश्वासको समस्या आएपछि ओम अस्पताल भर्ना गरिएको थियो। मृतकमा दम र उच्च रक्तचापको समस्या पनि थियो। उनलाई सुरूमै आइसियूमा राखेर उपचार गरिएको थियो।

६९) साउन २३ः सिराहा, वर्ष २५, पुरुष

सिराहा, गोलबजारका २५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो। उनी दुई वर्षदेखि किड्नीको डायलासिस गर्दै आएका थिए। अस्पताल ल्याउनेबित्तिकै उनको डायलासिस क्रममा उनको मृत्यु भयो। उनमा कोरोना पोजेटिभ देखिएपछि जनकपुर अस्पतालले डायलासिस नहुने भन्दै धरान रिफर गरिदिएको थियो।

७०) साउन २३ः ललितपुर, वर्ष ४५, पुरुष

पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो। वीरगन्ज निवासी उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या थियो। स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको थियो।

७१) साउन २३ः ललितपुर, वर्ष ४१, महिला

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ४१ वर्षीया महिला पाठेघरको क्यान्सरबाट पीडित थिइन्। मृतकको घर सुनौली थियो।

७२) साउन २३ः ललितपुर, वर्ष ४५, पुरुष

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ४५ वर्षीय पुरूष सर्लाहीका थिए। कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार भइराखेको थियो। उनलाई कुकुरले समेत टोकेको थियो। कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार भइराखेको थियो।

७३) साउन २३ः विराटनगर, वर्ष ५८, पुरुष

विराटनगर-९ निवासी ५८ वर्षीय पुरूषको विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको थियो। उनलाई अस्पताल ल्याउँदा-ल्याउँदै बाटोमै मृत्यु भएको थियो। मृत्युपछि उनको कोरोना परीक्षण भएको थियो। मृतकमा निमोनिया, ज्वरो, खोकी र रक्तचापको समस्या थियो।

७४) साउन २३ः वीरगन्ज, वर्ष ७४, पुरुष

वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ७४ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको थियो।वीरगन्ज छपकैया निवासी उनको मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो। मृतकलाई वीरगन्जकै एड्भान्स अस्पतालबाट रिफर गरिएको थियो। उनी दम, मधुमेहका रोगी थिए।

केही दिनदेखि ज्वरो र सास फेर्न समस्या देखिएपछि उनी एड्भान्समा भर्ना भएका थिए।

७५) साउन २३ः पोखरा, वर्ष ६२, पुरुष

कोरोना भाइरसको संक्रमणबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ वर्षीय पुरूषको मृत्यु भएको थियो। मृतक मधुमेहबाट पनि पीडित थिए।

७६) साउन २५ः वीरगन्ज, वर्ष २०, महिला

वीरगन्जमा २० वर्षीया युवतीमा मृत्युपछि कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई कोरोना अस्पताल गण्डक लगिएको थियो। अस्पताल पुग्नेबित्तिकै उनको मृत्यु भएको घोषणा गरिएको थियो। उनलाई परिवारले सुरूमा अन्य अस्पताल पनि लगेका थिए। तर कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई गण्डक पुर्‍याइएको थियो।

७७) साउन २५ः बाँके, वर्ष ७०, महिला

कोहलपुर नगरपालिका- २ की ७० वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो। उनलाई निमोनियाको लक्षण देखिएको हुँदा केही दिन पहिले नै अस्पताल भर्ना गरिएको थियो। सुरूदेखि नै ती महिलामा कोरोना भाइरसको स्पष्ट लक्षण देखिएको हुँदा अस्पतालमा आइसोलेट गरी राखिएको थियो। कोरोना पुष्टि भने उनको मृत्युपछि नै भयो।

७८) साउन २६ः वीरगन्ज, वर्ष ४५, महिला

वीरगन्ज-१५ निवासी ४५ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना अस्पताल गण्डकमा भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो। उनलाई पहिलादेखि नै थाइरायडको समस्या पनि थियो। कोरोना पुष्टि भने उनको मृत्युपछि नै भयो।

७९) साउन २६ः ललितपुर, वर्ष ६४, पुरुष

मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूष कीर्तिपुर ट्याङ्लाफाँट निवासी थिए। उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो। मृतक पुरूषमा भाइरल निमोनिया र पुरानो मुधमेहको समस्या थियो।

८०) साउन २६ः धनुषा, वर्ष ४५, पुरुष

धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरूष पाँच दिनदेखि रुघाखोकी, टाउको दुख्ने लगायतका समस्याले ग्रस्त थिए। उनको मृत्युपश्चात् कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। उनी विगत पाँच महिनादेखि विनयतारा फाउण्डेसनमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए।

८१) साउन २६ः ललितपुर, वर्ष ५०, महिला

काभ्रे स्थायी घर भएकी ५० वर्षीया महिलाको किस्ट अस्पताल, ललितपुरमा उपचारक्रममा मृत्यु भएको थियो। मृतक महिला निमोनियाका कारण समस्या भएपछि साउन २५ गते अस्पताल भर्ना भएकी थिइन्। मृत्युपश्चात उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

८२) साउन २७ः धनुषा, वर्ष ६०, पुरुष

धनुषा, विदेह नगरपालिका वडा नं. ८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पतालमा करिब २० दिनदेखि आइसीयुमा उपचाररत उनको कोरोनाको कारण मृत्यु भएको हो।

८३) साउन २७ः धनुषा, वर्ष ५०, पुरुष

अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा साउन २५ गते नै मृत्यु भएको थियो। मृत्यु हुनुभन्दा पहिले नै उनको स्वाब संकलन गरे पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

साउन २० गते शिक्षण अस्पताल कोहलपुर गरिएका ती व्यक्ति हेपाटाइटिस ‘बी’ रोगबाट ग्रसित र पछि उनको कडा खालको निमोनियाले गर्दा मृत्यु भएको थियो।

८४) साउन २८ः बुटवल, वर्ष २५, पुरुष

कृष्णनगर नगरपालिका वडा नम्बर १२ का २५ वर्षीय पुरुषको बुटवल धागो कारखानास्थित आईसियुमा भेन्टिलेटरमा उपचारक्रममा मृत्यु भएको हो। कोरोना पुष्टि भने उनको मृत्युपछि नै भयो।

८५) साउन २८ः बुटवल, वर्ष ४५, पुरुष

कपिलवस्तु नगरपालिका वडा नम्बर २ का स्थानीय व्यापारी ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानास्थित आईसियुमा भेन्टिलेटरमा उपचारक्रममा मृत्यु भएको हो। उनी साउन २५ गते अस्पतालमा भर्ना भएका थिए।

८६) साउन २८ः ललितपुर, वर्ष ३८, महिला

ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी कोरोना संक्रमित ३८ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको थियो।उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई मेनिन्जाइटिस पनि भएको थियो।

८७) साउन २८ः सप्तरी, वर्ष ७२, पुरुष

सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको थियो। करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। मृतक थाइराइड तथा मुटु सम्बन्धित रोगी थिए।

८८) साउन २८ः ललितपुर, वर्ष ७८, महिला

टेकुकी ७८ वर्षीया महिलालाई दुई दिनअघि किस्ट अस्पताल भर्ना गरिएको थियो। उनलाई ज्वरो, झाडापखाला र बान्ता भएको थियो। अरू अस्पतालले उपचार गर्न नमानेपछि उनलाई पाटन अस्पताल ल्याइएको थियो। पाटन अस्पतालले पनि किस्टमा रेफर गरिएको थियो। त्यहाँ आइसोलेसनमा उनको उपचारक्रममा मृत्यु भएको हो। कोरोना पुष्टि भने उनको मृत्युपछि नै भयो।

८९) साउन २८ः मोरङ, वर्ष ५५, पुरुष

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो। मोरङ स्थायी घर भएका पुरूषलाई रूघाखोकी, श्वासप्रश्वासमा समस्या, ज्वरो आएको थियो। सिकिस्त बिरामी भएपछि मृत्यु हुनुभन्दा दुई दिन अगाडि उनी अस्पताल भर्ना भएका थिए।

९०) साउन २८ः मोरङ, वर्ष ७७, पुरुष

बारा कलैया घर भएका ७७ वर्षीय पुरूषलाई त्रिवि शिक्षण अस्पतालले ललितपुरको किस्ट अस्पताल रिफर गरेको थियो। मृतकको आइसियुमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको खुट्टा भाँचिएको, चक्कर लाग्ने समस्याले अस्पताल गएको थिए। साथै उनमा मुटुको रोग पनि थियो।

९१) साउन २८ः काठमाडौं, वर्ष ३२, पुरुष

ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् ३२ वर्षीय कोरोना संक्रमित पुरूषलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। आइसियुमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। धादिङ स्थायी घर भएका उनी श्वासप्रश्वास तथा मिर्गौलाका बिरामी थिए।

९२) साउन २९ः मोरङ, वर्ष ५७, पुरुष

मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको थियो।

९३) साउन २९ः महोत्तरी, वर्ष ४५, पुरुष

महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको थियो।

९४) साउन २९ः धनुषा, वर्ष ८५, महिला

धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु भएको थियो।

९५) साउन २९ः अछाम, वर्ष १८, पुरुष

अछामका १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।

९६) साउन २९ः धनुषा, वर्ष ८५, महिला

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ८५ वर्षीया महिलाको मृत्यु भएको थियो। ज्वरो र रूघाले च्यापेपछि उपचारका लागि आएकी धनुषाकी महिलाको उपचारकै क्रममा मृत्यु भयो।

९७) साउन ३०ः विराटनगर, ४० वर्ष, पुरुष

सिरहा बिष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुषको विराटनगर, कोशी अस्पतालको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको थियो अस्पताल आउँदा नै उनको स्वास्थ्य बिग्रिसकेको थियो। उनलाई निमोनियाको समस्या थियो।

९८) साउन ३०ः विराटनगर, ३० वर्ष, पुरुष

विराटनगर-१५ का ३० वर्षीय पुरूषको कोशी अस्पतालको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको थियो। उनलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएको थियो। उनको सुरूमा कोरोना नेगेटिभ आए पनि पछि जाँच्दा पोजेटिभ आएको हो।

९९) साउन ३०ः पर्सा , ५० वर्ष, पुरुष

जितपुर सिमरा उपमहानगरपालिका ४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना पुष्टि भएको हो। मधुमेह र रक्तचापका रोगी उनको नारायणी अस्पतालमा मृत्यु भएको हो।

१००) साउन ३०ः पर्सा, ६५ वर्ष, पुरुष

प्रसौनी गाउँपालिका-२ प्रसौनी टोल बस्ने ६५ वर्षीय पुरुषको कोरोनाका कारण नारायणी अस्पतालमा मृत्यु भएको छ। उनी दमका बिरामी थिए। उपचार क्रममा मृत्यु भएका उनको मृत्युपछि कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.