जन सरोकार

जब गाईलाई पीठो बोकेर प्रदेशमन्त्री पुगे…

असहाय गाईबाच्छा संरक्षण अभियानले वरिपरि फलामे तारले घेरिएको ठूलो चौरमा एक सय ५३ असहाय गाईबाच्छा जम्मा गरेर पालन पोषण गरेको स्थानमा वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल आफैँ पीठो बोकेर पुग्नुभयो ।

विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइलगायत अभियानमा लाग्नुभएका उत्तम पुडासैनीले कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको जग्गामा सडकमा खुला छाडिएका गाईबाच्छालाई राखेको छ ।

सुरुमा त्रिभुवन विमानस्थलसँग जोडिएको वाग्मती नदी किनारको भागमा गाईबाच्छा जम्मा गरिएको थियो । विसं २०७६ चैतमा बन्दाबन्दी जारी गरिएका बेला सडकमा बेवारिसे गाईबाच्छाको सङ्ख्या बढ्न थाल्यो ।

तत्कालीन समयमा कोषले अभियानलाई गौशाला बनाउन चरन क्षेत्रसहित पुग्ने गरी एक सय रोपनी जग्गा मौखिक सहमतिका आधारमा उपलब्ध गरायो । त्यहाँ हाल सडकमा छोडेपछि दुर्घटनामा परेका, कुकुर लगायतले लखेटेर घाउ बनाएका, विभिन्न रोग लागेर सडकमै ढलेका गाईलाई संरक्षण गरिएको छ । गाई संरक्षण अभियानमा केही स्वयंसेवी निरन्तर रुपमा खटिँदै आउनुभएको छ ।

विभिन्न उदारमना व्यक्तित्वले गर्नुभएको सहयोगले यो अभियान टिकेको छ । अभियानमा मन्त्री फुयाँलले आज बिहानै आफैँ गाईका लागि पीठो बोकेर पुग्नुभएको हो । संरक्षणस्थलमा केही बेर उहाँले श्रमदान पनि गर्नुभयो । गौशाला परिसरको सो जग्गामा उहाँले पीपलको रूखसमेत रोप्नुभएको छ । गौशाला परिसरमा उहाँले राष्ट्रिय झण्डाको झण्डोत्तोलन पनि गर्नुभयो ।

अभियानलाई उहाँले २०७५ साल जेठमै आधा महिनाको तलब दिएर सहयोग गर्नुभएको थियो । यसले असहाय गाईबाच्छा संरक्षणलाई बीज स्रोतको काम गरेको अभियानकर्मी पुडासैनी बताउनुहुन्छ । असहाय गाईबाच्छा संरक्षणका लागि वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट भौतिक पूर्वाधार निर्माण गर्ने गरी रु १० लाख बजेट विनियोजन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले पनि असहाय गाईबाच्छा संरक्षण अभियानका लागि रु २५ लाख बजेट विनियोजन गरिएकाले त्यसलाई व्यवस्थापन गरेर काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।

आजै कागेश्वरी मनोहरा नगरपालिकाका कानुनी सल्लाहकार विदुर ढुङ्गानाले पनि रु सात हजार सहयोग गर्नुभएको छ । पछिल्लो समय जन्मदिनमा असहाय गाईबाच्छालाई पीठो, दाना, घाँस वा नगद नै दिएर सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी पुडासैनीले सुनाउनुभयो । यस्तो अभियानमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालसहित सयौँ व्यक्तित्व सहभागी भइसक्नुभएको छ ।

अभियानकर्मी आफ्ना व्यक्तिगत काम छोडेर असहाय गाईबाच्छा संरक्षण कर्ममा जुटेका छन् । वडा सदस्य अष्टलाल श्रेष्ठ स्थानीय सरकारले गर्नुपर्ने काम अभियानकर्मीबाट भएको बताउनुहुन्छ । यस्तो अभियानलाई स्थानीय सरकारले निरन्तर सक्ने सहयोग गर्ने उहाँको भनाइ छ ।

अभियानले सो स्थलमा पाँच सय गाईबाच्छालाई संरक्षण गर्न सक्ने संरचना निर्माण गरिरहेको छ । घाइते गाईबाच्छालाई उपचारका लागि छुट्टै उपचारस्थलको समेत निर्माण हुँदैछ । असहाय गाईबाच्छाको संरक्षणसँगै कम्पोष्ट मल उत्पादन पनि सुरु गरिँदै छ । यहाँ उत्पादन गरिने कम्पोष्ट मल बजार मूल्यभन्दा आधामै उपलब्ध गराइने अभियानकर्मी पुडासैनीले जानकारी दिनुभयो ।

अभियानले कुहिने फोहोरलाई कम्पोष्ट बनाउन प्रयोग गर्ने जनाएको छ । नकुहिने प्लाष्टिक जस्ता फोहोरलाई बोतलमा राखेर इँटा बनाउने अभियान सुरु भएको छ । गाईबाच्छा संरक्षण स्थलमा आउँदा फालिने प्लाष्टिकका झोलाहरु पनि सङ्कलन गरेर बुझाउने सकिनेछ । घरघरमा पनि प्लाष्टिकका झोला जम्मा गरेर अभियानलाई उपलब्ध गराउन अभियानकर्मी पुडासैनीले आह्वान गर्नुभएको छ । सडकमा फालिएका प्लाष्टिक पनि टिपेर अभियानलाई दिन सकिनेछ ।

असहाय गाईबाच्छा संरक्षण स्थललाई गौधामका रुपमा विकास गरेर वैदिक सनातन हिन्दू धर्मावलम्बीको दर्शनीय स्थलका रुपमा विकास गरिने लक्ष्यसमेत अभियानले अघि सारेको छ । गाईलाई गौमाताका रुपमा पूजा गर्ने संस्कृति बोकेको समाजमा गाईबाच्छालाई बेसहारा बनाएर मर्न बाध्य बनाइनु पाप भएकाले अभियानकर्मीहरु यस महायज्ञमा जुट्नुभएको हो ।

गौधाम वरपरको भागमा टिम्बुर, फलफूललगायत जडीबुटी रोपण अभियान पनि सुरु भएको छ । गाईसँगै औषधिजन्य वनस्पति रोपेर जडीबुटीका क्षेत्रमा समेत काम गर्न लागिएको हो ।

अभियानसँग जनावर उद्धार गर्ने एम्बुलेन्स नहुँदा खरिपाटीमा बूढीगाई घाइते भएको खबर पाएर पनि केही गर्न नसक्दा रातभर सुत्न नसकिएको अभियानकर्मी पुडासैनी गुनासो गर्नुहुन्छ । यसैगरी तीनथानामा पनि तीन बाच्छा घाइते भएको खबर आए पनि एम्बुलेन्सको अभावमा ठाउँ भएर पनि अभियानले केही गर्न सकेको छैन । यसैगरी त्रिभुवन विमानस्थल नजिकै यसअघि असहाय गाईबाच्छा संरक्षण गरिराखिएको स्थलमा पनि मानिसले ल्याएर तीन बाच्छा छोडेकामा कुकुर लगायतले घाइते बनाएका छन् । एम्बुलेन्स अभावले यिनको पनि उद्धार हुन सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.