बिचार

‘कोभिड’ र ‘नन–कोभिड‘को एउटै अस्पतालमा उपचार संक्रमणको आँधेबेरी सिर्जना

यादब देवकोटा

कोरोना भाइरस संक्रमणको सबभन्दा बलियो स्रोत अस्पताल हुने गरेकोमा कसैको विमती छैन र अस्पतालबाट संक्रमण बोकेर फर्कनु भनेको समु्दायमा कोरोना संक्रमण फैलिसकेको प्रमाणित हुनु हो । तर सरकार अझै पनि नेपालमा समुदायमा कोरोना फैलिनसकेको बताइरहेको छ । यदि त्यसो हो भने दीर्घरोगले थलिएका बिरामी अस्पताल पुगेपछि मृत्यु हुनु र उनमा कोरोना देखापर्नुको कारण के हो ? लडेर मर्किएको ख्ट्टाको उपचार गराउन अस्पताल गएका मानिस घर फर्कदा कोरोना बोकेर आउनुको आधार के हो ? जो व्यक्ति महिनौंदेखि घरबाट बाहिर निस्केका छैनन्, उनीहरु अस्पताल गएपछि कोरोना संक्रमणको पुष्टि हुनु भनेको अस्पताल नै कोरोनाको स्रोत हो ।

अस्पतालहरु कोरोना संक्रमणको सबभन्दा ठूलो स्रोत भएको चिनीया अनुसन्धानले नै देखाइसकेको छ । जब चीनका वुहानमा फैलिएको कोरोना भाइरस संक्रमणले महामारीका रुप लियो तब त्यहाँका चिकित्सकहरुको एक टोलीले अस्पताल आएका कोरोना भाइरस संक्रमितहरुमध्ये ४० प्रतिशत अस्पतालमै संक्रमित भएको निष्कर्ष निकाले । जतिबेला कोरोना संक्रमित र अन्य बिरामीको उपचार एकै अस्पतालमा हुने गरेको थियो ।

चिनीया चिकत्सकहरुको टोलीले वुहानको एक अस्पतालमा गरेको अध्ययन अनुसार गत जनवरी १ देखि २८ को बीचमा अस्पतालमा १ सय ३८ जना संक्रमित भएको पुष्टि गरिएको थियो । यीमध्ये ४१ प्रतिशत अर्थात् ५७ जना चिकित्साकर्मी तथा अन्य कारणबाट अस्पतालमा भर्ना भएकां थिए । अध्ययनमा के आशंका गरिएको थियो भने शल्यक्रिया विभागमा एक संक्रमितले १० जनाभन्दा बढी चिकित्सकलाई संक्रमित गरेका थिए ।

नेपालमा अस्पतालहरुमा संक्रमण भैसकेको छ । एकैदिन दर्जन, आधा दर्जन स्वास्थ्यकर्मीहरु संक्रमित भएको पुष्टि भैरहेको छ र अस्पतालहरु सिल गरिएका छन् । यस्तो किन भयो भने यी अस्पतालहरुमा कोरोना संक्रमित पनि र अन्य बिरामी दुबैथरिको उपचार हुन्छ । यसले चिकित्सकहरुसंगै बिरामी र बिरामीसंग आएकाहरु पनि संक्रमित भैरहेका छन् । अहिले यस्तै दृश्यहरु देखिएका छन् ।

कोरोना संक्रमणको तीन चरण हुन्छन्, पहिलो चरणमा एक व्यक्तिमा सर्ने, त्यसपछि ऊबाट अर्को स्थानको व्यक्तिमा र त्यसपछि स्थानीयमा संक्रमण फैलिन सुरु गरेपछि यसले महामारीको रुप लिनेछ । युरोप तथा अमेरिकामा भएको यही हो । अहिले नेपालमा यस्तै अवस्था छ । त्यसैले मानिसहरुको सम्पर्क बिच्छेद गर्नु नै संक्रमण रोक्नु हो । अध्ययनले के देखाएको छ भने मानिसहरुबीच सम्पर्क बिच्छेद गर्ने हो भने ८० प्रतिशत संक्रमण दर कम गर्न सकिन्छ । लकडाउन त्यसैकारण गरियो । तर नेपालमा जब चार महिना लामो लकडाउन खोलियो तब संक्रमण र संक्रमितको मृत्युदर ह्वात्तै बढेर आयो ।

अहिले नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा छ कि तेस्रो चरणमा प्रवेश गरिसक्यो ? भन्न सकिने स्थिति छैन । दैनिक १०–१२ हजारको परीक्षणबाट सो यक्किन गर्न नसकिएला तर जसरी संक्रमण कुनाकुनामा पुगेको छ यसले भने समुदायस्तरमा पुगिसकेको मान्न तयार हुनुपर्छ र सोही अनुसारको तयारी हुनुपर्दछ । त्यस्तो तयारी भनेको कोरोना संक्रमित र अन्य बिरामीको उपचार गर्ने अस्पताल अलग अलग बनाउनु हो ।

काठमाडौं उपत्यसका जस्तो घना बस्ती भएको शहरमा कोरोना र अन्य बिरामीको उपचार एउटै अस्पतालमा गराउनु जोखिम बढाउनु हो । यसको नतिजा आइसकेको छ । लामो समयदेखि घरमै बसेर आराम गरिरहेकाहरु अस्पताल पुगेपछि कोरोना संक्रमित भएका छन्, दीर्घरोगीहरुको मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएको छ । यो भनेको अस्पतालमै संक्रमण भएको हो ।

सरकारले जनता बचाउने हो भने अब उपत्यका लगायत देशका घना बस्ती भएका शहरहरुमा कोरोनाको उपचार गर्ने छुट्टै अस्पताल बनाउन ढिला गर्नु हुन्न । यसै पनि कतिपय निजी अस्पतालहरुले विरामी भर्ना नलिएर बसेको स्थितिमा सरकारले ती अस्पतालहरु भाडामा लिएर भए पनि कोभिड–१९ उपचारस्थल बनाउन ढिला गर्नु हुन्न । यसो गर्न सकियो भने सानो जनसंख्या भएको हाम्रो देशमा कोरोना सजिलै फैलनबाट रोक्न सकिन्छ ।

छ महिनाकोबीचमा नेपालमा जसरी कोरोना संक्रमण बढेको छ यसमा सम्भावित जोखिमको यथेष्ट आँकलन नगरेरै भएको हो । विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण पाइएकोमा अब घरभित्रै बसेकाहरुमा समेत देखिएपछि अब कोरोनाका विषयमा यसो र उसो भनेर उम्कने छुट कसैलाई छैन । किनभने विदेशबाट आएकाबाट स्थानीयमा संक्रमण फैलिएपछि कोरोनाको दोस्रो चरणको संक्रमण सुरु हुनु हो र नेपालमा यो चरण पार गरेर तेस्रो चरणमा पुगिसकेको छ जुन निकै जोखिमपूर्ण मानिन्छ ।

यसअघिको संक्रमण आयातित मात्र थियो अर्थात् विदेशबाट आएका नेपालीमा मात्र थियो । विज्ञहरूले यसलाई पहिलो चरण वा ‘इम्पोर्टेड’ चरण मानेका थिए । दोस्रो चरणमा विदेशबाट आएका संक्रमित व्यक्तिले अर्को व्यक्ति साधारणतः हेलमेल भएका नातागोतामा संक्रमण गराउँछ । तेस्रो चरणबाट ती आन्तरिक संक्रमित व्यक्तिले अन्य सयौँ व्यक्तिलाई संक्रमण गराउँछन् । पहिलो र दोस्रो चरणको संक्रमणको स्रोतबारे सहजै जानकारी पाउन सकिन्छ तर तेस्रो चरणको संक्रमणको स्रोत थाहा पाउन त्यति सम्भव हुँदैन । यसलाई ‘चेन रिएक्सन’ चरण पनि भनिन्छ, जहाँ एकबाट सय, सयबाट हजार, हजारबाट १० हजार र यसै तरिकाले संक्रमणको अनियन्त्रित फैलावट हुँदै जान्छ  ।

नेपालमा अहिलेको समस्या यही हो । संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ नै असम्भव जस्तो देखिएको छ । अमेरिका, युरोपका इटाली, स्पेन, फ्रान्स, जर्मनी अनि पछिल्लो समय ब्राजिल, भारतमा भएको यही हो । अझै समय बितिसकेको छैन । सरकारले लकडाउन हटायो, जनजीवन सहज बनाउन भनेर तर कोरोना संक्रमणले डाँडो काट्ने भयो । सरकारले अब रोकथामका लागि जेजति गर्नुपर्ने हो सबै स्थानीय प्रशासन र तहलाई जिम्मा दिएको छ । देशका आधाभन्दा बढी जिल्लाका विभिन्न क्षेत्र ‘सिल’ गरिएका छन् । काठमाडौं उपत्यकामा पनि यही क्रम स्ुरु भएको छ ।

यी सबै संक्रमण बढ्न नदिने उपाय हुन्, तर के यतिले मात्र पुग्छ ? अवश्य नेपालमा जे भैरहेको छ क्षमता अनुसार ठीकै हो भन्नेहरु होलान् तर हामीले कोरोना महामारीलाई झाडापखाला जस्तो ठान्ने गल्ती गरेकै हो । यसैको परिणाम अहिले समुदायमा फैलिन पुगेको छ । सरकारले घोषणा गरे पनि नगरे पनि आम जनताले प्रत्यक्ष भोगेको कुरा यही हो ।

अर्को महत्वपूर्ण कुरा के छ भने अब सरकारले कोरोना संक्रमितहरुको मात्र उपचार गर्ने अस्पतालको व्यवस्था गर्नैपर्छ । केन्द्र सरकारले गर्दैन भने प्रदेश र स्थानीय तह नै लाग्नुपर्छ । यसका लागि अलग बजेट नभए असारे विकासको बजेट खर्च गरे हुन्छ । तर कोरोना संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाउनैपर्छ नत्र स्थिति सम्हाल्न नसकिने गरी विग्रनेछ । किनभने चिनीया विज्ञहरुले गत जनवरीमै भनिसकेका थिए कि अस्पतालबाट ४० प्रतिशत संक्रमण फैलिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.