विश्व समाचार

अमेरिकी करको सामना गर्दै मोदीको आत्मनिर्भरताको प्रतिज्ञा

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतलाई ऊर्जा स्वतन्त्र र आफ्नै शक्तिशाली रक्षा प्रणालीको विकासका साथ आत्मनिर्भर बनाउने प्रतिज्ञा गर्दै देशको हितलाई ‘पर्खालझैँ’ जोगाउने घोषणा गर्नुभएको छ ।

वार्षिक स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले भन्नुभयो, “आत्मनिर्भरता विकसित भारतको आधार हो । अरूमाथि अत्यधिक निर्भरता भए स्वतन्त्रताको अर्थ रहँदैन ।”

भारत अहिले अमेरिकाबाट थप आयात करको दबाबमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रुसी तेल खरिद रोक्न अल्टिमेटम दिँदै अन्यथा अगस्ट २७ देखि भारतमा लागू २५ प्रतिशत आयात भन्सार शुल्क ५० प्रतिशत पुर्‍याइने चेतावनी दिनुभएको छ ।

भारतले युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई समर्थन गर्न ‘तयार रहेको’ बताएको छ र शुक्रबार अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने शिखर सम्मेलनलाई समर्थन गरेको छ ।

मोदीले भन्नुभयो, “हामी हाम्रो ऊर्जा आवश्यकताका लागि धेरै देशमा निर्भर छौँ । तर साँचो अर्थमा आत्मनिर्भर बन्न हामीले ऊर्जा स्वतन्त्रता हासिल गर्नैपर्छ ।”

उहाँले वैज्ञानिक र इन्जिनियरहरूलाई लडाकू विमानका इन्जिन, सेमिकन्डक्टर चिप्स र सैन्य उपकरणहरूजस्ता क्षेत्रमा स्वदेशी उत्पादनमा ध्यान दिन आह्वान गर्नुभयो ।

उहाँका अनुसार यसै वर्षको अन्त्यसम्म भारतमा बनेका सेमिकन्डक्टर चिप्स बजारमा आउनेछन् । भारतले आफ्नै अन्तरिक्ष स्टेसन बनाउने योजना अघि बढाइरहेको छ र अर्को दशकमा ‘डिफेन्स सिल्ड’ स्थापना गर्ने तयारीमा छ ।

मोदीले हालै पाकिस्तानसँग भएको चार दिनको द्वन्द्वमा सहभागी भारतीय सेनाप्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले अमेरिकी नीतिबारे प्रत्यक्ष टिप्पणी नगरी किसानका हितविरुद्ध हुने कुनै पनि कदमका विरुद्ध ‘पर्खालझैँ उभिने’ बताउनुभयो ।

कृषि भारतको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएकाले व्यापार वार्तामा यो संवेदनशील विषय बनेको छख। मोदीले भन्नुभयो, “आर्थिक स्वार्थ बढ्दै गइरहेका बेला हामीले सङ्कटको मात्र चिन्ता नगरी आफ्नै शक्तिमा केन्द्रित हुनुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.