राजनीति

भारत अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भारतीय राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

सुगौली सन्धि अगाडिको नेपाल कायम हुनुपर्ने भन्दै ग्रेटर नेपाल अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राष्ट्रपतिसमक्ष त्यहाँको स्वतन्त्रता दिवसको अवसर पारेर भारतले अतिक्रमण गरेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि अविलम्ब फिर्ता गर्न ज्ञापनपत्र बुझाएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल भारतीय स्वतन्त्रता दिवस अगस्ट १५ का दिन राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू समक्ष ज्ञापनपत्र पेश गर्दै नेपालको ६० हजारभन्दा बढी क्षेत्रफलमा ७५ वर्षदेखि कायम रहेको उपनिवेश अविलम्ब अन्त्य गरोस् भन्ने माग गरिएको छ ।

ज्ञापनपत्रको नेपाली रुपान्तरण जस्ताको तस्तै

महामहिम राष्ट्रपति
इन्डिया
नयाँ दिल्ली , इन्डिया

राष्ट्रपति महोदय,

इन्डिया सन् २०२२ को अगस्त १५ लाई स्वतन्त्रताको अमृत वर्षका रूपमा मनाइरहेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यस अवसरमा इन्डियाली जनताप्रति बधाई तथा शुभकामना व्यक्त गर्दछ । तर अगस्त १५ इन्डियाली जनताका निम्ति जति हर्ष र गौरवको घडी हो, यसका विपरीत बितेका ७५ वर्ष नेपाली जनताका निम्ति पीडा र विस्मयको अध्याय हो भन्ने तथ्य महामहिम राष्ट्रपतिसमक्ष राख्नु अत्यन्त सान्दर्भिक हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको धारणा रहेको छ ।

राष्ट्रपतिज्यू ,

पाकिस्तान र इन्डिया नयाँ देशका रूपमा स्थापित भएको ‘इन्डियन इन्डिपेन्डेन्स एक्ट` (१९४७ जुलाई १८ ) का आधारमा हो । उक्त ऐनमा सुगौली सन्धि (१८१६ मार्च ४ ) बाट गुमेको नेपालको जमिन पनि स्वतन्त्र भएको उल्लेख छ तर इन्डियाले आफू स्वतन्त्र हुनासाथ नेपालको भूमिमा कब्जा जमायो । आफूलाई विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भनी गर्व गर्ने इन्डियाले अर्कालाई सासै फेर्न नदिनु कस्तो प्रजातन्त्र हो ? आफ्नो स्वतन्त्रताको गीत गाउनु गौरवको विषय हो तर अर्कालाई बोल्नै नदिनु कहाँको न्याय हो ?

महामहिम राष्ट्रपतिज्यू ,

इन्डियाले उसको भूमिमा स्वतन्त्रताको झन्डोत्तोलन गर्दा नेपालीलाई कुनै अप्ठ्यारो लाग्दैन तर नेपालको जमिन उपनिवेशमा राखेर इन्डियाली सरकार त्यहाँ कसरी स्वतन्त्रता दिवस मनाउन सक्छ ? ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाललाई उसको हक लाग्ने उल्लिखित भूमि फिर्ता गर्न इन्डियाली सरकारलाई तपाईँले विवेकपूर्ण निर्देशन दिनुहुनेछ भन्ने विश्वास प्रकट गर्दछ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौं , नेपाल
२०२२ अगस्त १५

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.