जल/वातावरण

सशस्त्र प्रहरीका ६० जनाको नमूना परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण

चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । ६०जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो ।

नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताउनुभयो । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उहाँले जानकारी दिनुभयो । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

यस्तै, भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो । भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच संक्रमित छन् । दुई जना सफाइ गर्ने सहयोगी हुन् ।

यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमुना लिइएको थियो ।

सोमबार परीक्षण गरिएका ३५५ नमुनामध्ये ३०५ वटा नमुनाको नेगेटिभ रिपोर्ट आएको छ ।

चितवनमा ४६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५५ पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जुन अस्पतालमा संक्रमित छन् उनीहरुलाई सोही अस्पतालमा राख्न निर्देशन दिएको छ । भरतपुर अस्पतालमा संक्रमितले शय्या भरिएका कारण थप संक्रमित राख्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.