राजनीति

रावलको प्रश्न- गठबन्धनले गरेका निर्णयहरु मान्य हुने भए राजतन्त्र किन समाप्त गरेको ?

नेकपा एमालेका सांसद भीम रावलले सत्ता गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै पठाउने निर्णय गरेकोमा आपत्ति जनाउँदै संविधानभन्दा गठबन्धनले गरेका निर्णयहरु मान्य हुने भए राजतन्त्र किन समाप्त गरेको भन्दै गम्भीर प्रश्न उठाउनुभएको छ ।

उहाँले थप भन्नुभयो, ‘यदि त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको ? ५ दलीय अमिर छन् नि कतिपय देशमा त्यस्तै संयन्त्र बनाउने प्रणाली गरे हुँदैन ? नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य हुँदैन ।’

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रावलले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधान अनुसार चल्न सरकारसँग आग्रह गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने स्पष्ट गर्दै भन्नुभयो ‘नागरिकता नपाउने को हुन् ? कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन् त्यसको छानबिन गरौँ ।

रावलले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने तर्क कसरी गलत हुन्छ भन्दै यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित रहेको पनि बताउनुभयो ।

नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने दाबी गर्दै संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधान विरोधी काम गरिरहेको आरोप समेत लगाउनुभयो ।

नागरिकता जस्तो संवेदनशील विषय सांसदहरुले संशोधन हाल्दा र राष्ट्रपतिले पुनःविचारका लागि पठाउँदा समितिमा छलफल गर्न पनि तयार नहुने कुरा लोकतन्त्रको अभ्यास भनएको भन्दै उहाँले यसलाई राष्ट्रियताप्रतिको संवेदनशीलता भनेर कसैले भन्न नसक्ने पनि बताउनुभयो ।

त्यस्तै रावलले संविधान भन्दा गठबन्धनले गरेका निर्णयहरु मान्य हुने भए राजतन्त्र किन समाप्त गरेको भन्दै प्रश्न गर्दै भन्नुभयो ‘७ वर्षसम्मको अवधि तोक्ने कुरा त सहमति भएको थियो। आज सहमतिबाट पछि हटेर काम गर्ने ? बालुवाटारमा बस्ने ५ दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो ? त्यसले जे फैसला गर्छ त्यो संविधान भन्दा माथि हुन्छ ?’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.