अर्थ

गाउँमै सीमित औषधीय गुणयुक्त कन्दमूलको अचार

प्राकृतिक रुपमा उम्रने विभिन्न वनस्पति तथा कन्दमुलहरुमा अपार औषधीय गुण हुने कुरा जगजाहेर विषय हो । कन्दमुल र यसबाट बनेका विभिन्न परिकारहरु स्थानीय तहमा लोकप्रिय रहे पनि बजारमा भने अझै पुग्न सकेको छैन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नाच्र्याङको लेक गाउँमा पाइने औषधीय गुणयुक्त कन्दमूलको अचार प्रवद्र्धन र बजारीकरणको अभावमा गाउँमा मात्रै सीमित बनेको छ ।

अन्नपूर्ण चक्रिय पदमार्गको आकर्षक स्थल मानिने नाच्र्याङ र नाच्र्याङको शिरानमा रहेको लेकगाउँलाई पूर्व तथा उत्तरबाट घेरेको जङ्गल हिमालसम्मै फैलिएको छ । यो गाउँमा पाइने वनस्पति र कन्दमूलको तरकारी तथा अचारले अन्तर्राष्ट्रिय बजार पाउन सक्ने भए पनि प्रवद्र्धन हुन नसक्दा गाउँमा नै खुम्चिएर रहन बाध्य भएको स्थानीयवासीले बताएका छन् ।

अचारका सौखिनका लागि नाच्र्याङका प्रत्येक घरमा वनस्पति र कन्दमूलका थरीथरी अचार पाइन्छन् । ती अनेकौँ अचारमध्ये फापर परिवारअन्तर्गत पर्ने ‘रियम’ प्रजातिको कन्दमूलको अचार यहाँ रुचाइनेमध्येको प्रमुख हो । यो अचार स्वादिष्ठ हुनाका साथै औषधीय गुणले समेत युक्त हुने भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले असाध्यै रुचाउने गरेका स्थानीयवासी जीतबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार यो अचार प्राकृतिकरुपमा नै अमिलो हुन्छ । यो अचार बनाउने विधि पनि अनौठो रहेको पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वनस्पतिको बोक्रालाई त्यसैको पातमा पोको पारेर तोरीको तेलमा केही महीना डुबाएर राखेपछि अचार तयार हुन्छ । गाउँलेले जेठ–असारमा त्यसका पात र बोक्रा सङ्कलन गरेर अचार बनाउने गर्दछन् । उहाँका अनुसार यो वनस्पतिको पात एक–डेढ मिटरसम्म अग्लो हुन्छ । यसको फूल सानो र गुलाबजस्तो रातो हुन्छ ।

यसलाई विशेष प्रकारको अग्र्यानिक अचार भनेर प्रचारप्रसार गर्न सक्ने हो भने मानिसको स्वास्थ्यसँगै पर्यटन प्रवद्र्धनको पनि प्रशस्तै सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । बूढापाकाका अनुसार यहाँ बनाइने अचार आयुर्वेदिक महत्वको पाखनभेद नामक वनस्पतिको आनुवांशिक प्रजाति हो । यो अचार औषधीय गुणले समेत युक्त हुने भएकाले ग्याष्टिक, गोला, गानो, छाती दुख्नेलगायतका बिरामीका लागि अत्यन्तै उपयोगी हुने बताइएको छ ।

यसको स्वाद गोलभेडाको भन्दा तिख्खर अमिलो हुने भएकाले यसलाई जङ्गली गोलभेडा पनि भनिने गरेको स्थानीयवासी तिलबहादुर पुनले बताउनुभयो । परम्परागत रुपमा बनाइँदै आएको यहाँको वनस्पतिय अचारलाई प्रवद्र्धन गरी बजारीकरण गर्न स्थानीय तहले पहल थाल्नुपर्ने उहाँको भनाइ छ ।

त्यसैगरी यहाँ जङ्गली वनस्पति चुत्रोबाट मदिरा (घरेलु रक्सी) उत्पादन गर्ने गरिन्छ । जङ्गली फलबाट बनाइने यो मदिरा विशुद्ध प्राकृतिक हुने भएकाले यसले स्वास्थ्यलाई नकारात्मक असर नगर्ने यहाँका बासिन्दाको भनाइ छ । सिस्नोको परिकारका लागि पनि यो गाउँ प्रसिद्ध छ । जङ्गल र भिर पाखामा पाइने सिस्नोलाई टिपेर यहाँका बासिन्दाले स्वादिष्ट परिकार बनाउने गरेका छन् ।

कसरी पुग्ने नारच्र्याङ ?

काठमाडौँ, पोखरालगायत देशका विभिन्न शहरबाट यातायातका साधनमार्फत उत्तरी म्याग्दीको भुरुङ तातोपानीसम्म आउने सुविधा छ । त्यसपछि बेनी–जोमसोम सडकखण्डको तातोपानीबाट उत्तरपूर्व डेढ–दुई घण्टा हिँडेपछि नाच्र्याङ लेक गाउँ पुगिन्छ ।

लेक गाउँको सामाजिक बनावट पनि गजबको छ । गाउँमा एक–दुई घर विश्वकर्मा र दर्जीबाहेक सबै पुन मगरको बसोबास छ । यहाँ विशुद्ध मगर भाषा बोलिन्छ । अतिथि सत्कारका लागि यो गाउँ अग्रपङ्क्तिमा आउँछ । त्यसका साथै हिमाली दृश्यावलोकनका निम्ति पनि नाच्र्याङ लेक गाउँ अत्यन्तै उपयुक्तस्थल हो ।

यसको माथिल्लो कुइनेटोबाट उत्तर पश्चिममा धौलागिरि, उत्तरमा नीलगिरि र उत्तरपूर्वमा अन्नपूर्ण प्रथम नजिकै उभिएको देखिन्छ तर विगत दुई वर्षदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन नसकेका स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button