जन सरोकार

आज तीज : स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर मनाउन आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो ।

“यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छन् भन्ने मेरो विश्वास छ”, सन्देशमा भनिएको छ, “हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ ।”

राष्ट्रपति भण्डारीले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक र जातीय विभेद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।

उता उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वव्यापी महामारी कोरोना भाइरस देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उहाँले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आपिल गर्नुभएको छ । कोेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिन अपिल गर्दै उपराष्ट्रपतिले कोरोनाको संक्रमणबाट जोगिन नागरिक आफै पनि सचेत र जिम्मेवार हुन आवश्यक रहेको बताउनुभएको छ ।

सबै नेपाली एकजुट भएर धैर्यतापूर्वक कोराना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनैतहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बनाउन जोड दिनुभएको छ ।

कोरोना सङ्क्रमणबीच थुप्रै सांस्कृतिक तथा धार्मिक चाडपर्व आएका र यसबाट परिस्थितिअनुसार चाडपर्व मनाउनुपर्दछ भन्ने पाठ पनि सिकेको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने र आगामी वर्षमा तीजलगायतका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु पुनः उल्लासमय वातावरणमा मनाइने विश्वास व्यक्त गर्नुभएको छ ।

हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्दै उहाँले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

यसै गरी सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन दिदीबहिनीलगायत सबैमा अनुरोध गर्नुभएको छ । हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उहाँले नोभल कोरोना भाइरस ९कोभिड–१९० को महामारीका कारण विगतमा जसरी यो पर्व मनाउने अवस्था नरहेको बताउनुभएको छ ।

कोरोनाका कारण उत्पन्न महामारी दिनप्रतिदिन विस्तारित र जोखिमपूर्ण भइरहेको उल्लेख गर्दै उहाँले उच्च सतर्कता अपनाउँदै पर्व मनाउन आह्वान गर्नुभएको छ । हरितालिका तीज पर्वको माध्यमबाट सामाजिक सद्भाव र पारिवारिक एकतामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले तीज पर्व सम्पूर्ण दिदीबहिनीको स्वतन्त्र, सुरक्षित र सम्मानपूर्ण जीवन यापन गर्नसक्ने वातावरण बनाउने बहसको अवसर पनि बनोस् भनी कामना गर्नुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि तीजका अवसरमा शुभकामना दिँदै उच्च सतर्कताका साथ पर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ । “चाडपर्वहरू मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ,” उहाँद्वारा जारी सन्देशमा उल्लेख छ, “पारिवारिक मिलन र सामाजिक सद्भावपूर्ण यस पर्वमा समेत जमघट गर्न अहिलेको समय प्रतिकुल भएकाले सम्पूर्णमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै मनाउनुहुन हार्दिक अनुरोध गर्दछु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.