कोरोना संक्रमणबाट काठमाडौं र वीरगञ्जमा गरी थप दुई जनाको मृत्यु

शुक्रबार काठमाडौं र वीरगञ्जमा थप एकएकजना कोरोना संक्रमितको मत्यु भएको छ । समाचार अनुसार काठमाडौंको लम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।
उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो । साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौंबाट आएकै दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको रिपोर्ट ३२ गते पोजेटिभ आएपछि ग्रिनसिटीमा रहेका उनको अवस्था गम्भीर भएपछि बिहीबार मात्र एपीएफ अस्पताल लगिएको थियो ।
त्यसै गरी कोरोना संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिएका छन् ।
मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ । उनका आफन्तले रेमडेसिभर औषधी ल्याउन खोजे पनि सकिरहेका थिएनन् ।
नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्