जन सरोकारस्वास्थ्य

अस्पतालमा भर्ना हुन पनि दलालको भर

संविधानले हरेक नेपाली जनताको शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने प्रावधान राखिएको छ । तर आम जनताले यी दुबै कुरामा निकै महंगो शुल्क तिर्नु परिरहेको छ । सरकारी अस्पतालहरुमा आम नागरिकले सहज उपचार समेत पाउन सकेका छैनन् भने भर्ना हुन दलालको शरणमा जानपर्ने अवस्था समेत सिर्जना भएको पाइएको छ ।

शुक्रबार विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आफन्तलाई ठगी गरी बिचौलिया कार्य गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार नगरमा बिरामी तथा बिरामीका आफन्तलाई भेटी विभिन्न भ्रम फैलाई आफ्नो सम्पर्कको फार्मेसीमा लग्ने कार्य गर्ने विराटनगर–८ अमरटोल बस्ने १८ वर्षीय प्रधुम्न राय र सोही स्थानका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरिएको छ ।

राय र साहले ‘यहाँ चिकित्सक राम्रो छैन, यो अस्पतालमा कोरोनाको बिरामी धेरै छन्, उपचार राम्रो छैन’ भन्ने जस्ता अफवाह फैलाई बिरामी तथा आफन्तलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधि किन्न बाध्य गराउने गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यालयले यस किसिमको व्यवहारबाट अन्य कोहीबाट पीडित भएको भए वा हुन गइरहेको थाहा भएमा नजिकको प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.