राजनीति

नेतृत्व गर्छु भन्नेहरु आर्थिक मोहबाट मुक्त बन्नुपर्दछ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समाज र देशको नेतृत्व गर्छु भन्ने जो कोही आर्थिक मोहबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिको तेस्रो अधिवेशन तथा तीज विशेष कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उहाँले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै बदल्न नसकिएको विद्यमान अवस्थामा नेतृत्वमा जानेहरू पारदर्शी एवं जनउत्तरदायी बन्नुपर्ने बताउनुभयो ।

देशका पूर्वपदाधिकारीका नाममा राज्यबाट लिइने सुविधा छोड्नुपर्ने बताउँदै उहाँले नेतृत्वमा इमान्दरिता र जिम्मेवारिता अपरिहार्य भएको बताउनुभयो ।

उहाँले नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई अझै बलियो बनाउँदै देखिएका बिकृति, विसङ्गति अन्त्य गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिका माध्यमबाट पार्टी सङ्गठनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार एवं पर्यटन व्यवसायी कृष्णकुमार श्रेष्ठले पार्टी सङ्गठनलाई बलियो बनाउनका लागि आर्थिक पारदर्शिता, कार्यकताको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिका सभापति लालप्रसाद पाठकले समितिले पार्टी सङ्गठन क्रियाशील बनाउन खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो ।

सो अवसरमा संस्थापक सभापति केदार धमला, समितिको विभिन्न कार्यक्रमका संयोजक तथा यस वर्षको एसएलसी उत्तिर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो । नेपाली महिलाको पर्व तीजका अवसरमा विशेष सांस्कृतिक प्रस्तुती पनि राखिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.