राजनीति

प्रधानमन्त्री देउवाद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

गिरीको पार्थिव शरीर ९ देखि १ बजेसम्म मेडिसिटी अस्पतालमा र ११ः३० देखि बजेसम्म सानेपामा राखिने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।”

उहाँले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

यसै गरी नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले एक शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

नेता गिरीप्रति श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर आइतबार भदौ ५ गते बिहान ९ः०० बजे देखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने सो शोक विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी श्रद्धाञ्जलीको लागि बिहान ११ः३० बजेदेखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय, बि.पी. स्मृति भवन, सानेपामा उहाँको पार्थिव शरीर राखिने र तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ ।

विसं २००४ सालमा सिरहामा जन्मनुभएका समाजवादी चिन्तक गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ हाल प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.