अर्थ

खानीका धातु र ढुङ्गाका साथै पहराका शिलाजीत अलपत्र

पश्चिम र उत्तरी म्याग्दीका जङ्गल तथा भिरपाखामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका तामा, स्लेट, खरी, शिलाजीत र चुनढुङ्गालगायत बहुमूल्य खानी उत्खननको पहल हुननसक्दा जङ्गलमा नै खेर गइरहेका छन् ।

सङ्घीय सरकारको मातहतमा रहेको खानी तथा भूगर्भ विभागले खानी सञ्चालनको अनुमति नदिँदा स्थानीय तहको बलियो आयस्रोत बन्नसक्ने दर्जनौँ खानी जङ्गलका भिर पहरामा नै अलपत्र परेका हुन् ।

जिल्लाका स्थानीय तह र सरोकारवालाले खानी सञ्चालनका विषयमा पटकपटक नेपाल सरकार र सम्बन्धित निकायसँग उत्खननका अनुमति माग गर्दा पनि अनुमति प्राप्त नभएपछि यी खानी ‘भिल्लाका देशका मणि’ जस्तै प्रयोग र महत्वविहीन बनेका हुन् ।

जिल्लाका पश्चिमी तथा उत्तरी क्षेत्रमा तामादेखि लिएर नुनका खानीसमेत भएको पुष्टि भए पनि सम्बन्धित निकायको मौनताले र खानी उत्खननसम्बन्धी प्रष्ट नीतिगत व्यवस्थाको अभावमा खानी अलपत्र परेका सरोकारवालाले बताएका छन् ।

जिल्लाको मालिका गाउँपालिका–५ ओखरबोटमा रहेको नेपालकै उत्कृष्ट मानिएको तामाखानी पनि स्पष्ट नीतिको अभावका कारण उत्खनन गर्न नसकिएको खानीका पूर्व ठेकेदार तथा हाल मालिका गाउँपालिका–५ ओखरबोटका पूर्ववडाध्यक्ष दिलीप शेरचन बताउनुहुन्छ ।

उहाँका अनुसार जिल्लामा रहेका तामा, स्लेट (घर छाउने ढुङ्गा), शिलाजीत, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि उत्खनन हुन नसक्दा अलपत्र अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् ।

स्थानीय बूढापाकाका अनुसार ओखरबोट, भकिम्ली, गौश्वारालगायत ठाउँमा रहेका तामा खानी २०२८ सालसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर (भेजा) तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो । “तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पुर्खाले उत्खनन गर्न छाडेका हुन्”, मल्कावाङका ७१ वर्षीय दलबहादुर छन्त्याल गुनासो गर्नुहुन्छ ।

साविकका गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्लीलगायत गाविसमा करिब २० वटा तामाखानी उत्खननका लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । विसं २०६८ को जनगणनाअनुसार नेपालमा छन्त्याल जातिको जनसङ्ख्या ११ हजार थियो ।

परम्परागत पेसाबाट विस्थापित उनीहरू पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेसामा आबद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो । छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुघेर पनि खानी पत्ता लगाउने गरेको बूढापाकाको भनाइ छ ।

खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन गर्न खनिएका पाँच सय मिटरसम्मका सुरुङ ओखरबोटमा अझै भेटिने स्थानीयवासी नवीन पुन बताउनुहुन्छ ।

उहाँका अनुसार ती सुरुङमा अहिले पानी भरिएको ताल बनेको छ भने सुरुङभित्र तामाका धाउ असरल्ल अवस्थामा छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेट्टिन्छन् । तत्कालीन अवस्थामा छिना, मार्तल, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो ।

खानी उत्खनन गर्ने अधिकार सङ्घीय सरकारले स्थानीय तहलाई दिनुपर्ने आवाज म्याग्दीमा तीव्ररुपले उठ्ने गरेको छ । यसका लागि कतिपय जनप्रतिनिधि सम्बन्धित मन्त्रालय र खानी तथा पुरातत्व विभागमा डेलिगेशनसमेत गएका थिए ।

रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागतरूपमा उत्खनन भने भइरहेको छ । जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापा जिल्लाका प्राकृतिक सम्पदाको संरक्षण र ती सम्पदाबाट स्थानीयवासीको जीविकोपार्जनका लागि पहल सुरु गरिएको जानकारी दिनुहुन्छ ।

पहरामै अलपत्र शिलाजित

जिल्लाका विभिन्न भिरमा पाइने बहुमूल्य जडीबुटी शिलाजित पहरामै अलपत्र परेको छ । स्थानीयमा शिलाजितको महत्व, उत्खनन र प्रशोधनसम्बन्धी ज्ञान नहुँदा करोडौँ मूल्यका शिलाजित खेर गइरहेको हुन् । आयुर्वेदिक महत्वले युक्त शिलाजितको उत्खनन र बजारीकरणका लागि यहाँका स्थानीयतहले ध्यान नदिएको गुनासो व्यापक बन्दै गएको छ ।

जिल्लाका धेरैजसो ठाउँमा शिलाजित भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको जिल्लास्थित आयुर्वेद औषधालयले जनाएको छ । गाउँघरमा परम्परागतरूपमा ठूलाठूला चट्टानका भिरबाट स्थानीयवासीले निकालेर शिलाजित बनाउने गरे पनि व्यावसायिकरूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको आयुर्वेदिक औषधिका जानकार रघुनाथ सापकोटा बताउनुहुन्छ ।

शिलाजित हरेक बिरामीका लागि उपयोगी भएको र यसलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीका लागि यसको बढीमात्रामा प्रयोग गर्ने गरिएको सापकोटा उल्लेख गर्नुुहुन्छ ।

बजारमा शिलाजित ‘क्याप्सुल’का रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भिरका चट्टान तथा ढुङ्गा पग्लेर शिलाजित निस्कने गरेको उक्त औषधालयले जनाएको छ ।

पश्चिम म्याग्दीका गुर्जा, लुलाङ, मुदी, मुना, बङ्रजा, गौश्वारालगायत जङ्गलका भिरमा शिलाजित पाइन्छ । जानकारका अनुसार शिलाजित दुई किसिमको हुन्छ ।

शिलाजितलाई जडीबुटीको राजा मानिन्छ । बल पुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजितमा पाइन्छ । सूर्यको किरणमा शिलाजितयुक्त ढुङ्गा राखेर त्यसबाट शिलाजित सङ्कलन गरिएमा त्यसलाई सूर्यतापी शिलाजित भन्ने गरिन्छ । शिलाजितयुक्त ढुङ्गालाई आगोमा गाईको गहुँतसँग पकाएर सङ्कलन गरेमा त्यसलाई अग्नितापी शिलाजित भन्ने गरिन्छ । भिरबाटै सङ्कलन गर्न सके निकै शुद्ध शिलाजित निस्कन्छ ।

जिल्लामा शिलाजितसँगै ७२ प्रकारका अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । शिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको पूर्वडिभिजन वन अधिकृत चन्द्रमणि सापकोटा बताउनुहुन्छ ।

बिरामीका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजितको निकै महत्व रहेको बताइन्छ । यौन दुर्बलता अर्थात् नपुङ्सकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ ुहन्छ । विशेषगरी मधुमेह, धातुक्षिणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलतालगायत रोग यसले निर्मूल बनाइदिन्छ ।

शिलाजितको उत्पत्ति पत्थरबाट भएको आयुर्वेद शास्त्रमा उल्लेख छ । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजित हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.