पार्टी झगडा मिलाउने सुझावसहितको प्रतिवेदन बुझायो कार्यदलले
पार्टीभित्रका शीर्ष नेताहरुबीच उत्पन्न विवाद समाधान गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका संयोजक तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले सर्वसम्मतिले तयार पारेको सो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको हो ।
कार्यदलमा शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो । यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।
नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको छ ।
प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेस गरिने कार्यदलका एक सदस्यले जानकारी दिए ।
प्रतिक्रिया राख्नुहोस्