राजनीति

निर्वाचन पद्धतिबारे विश्वास अभिवृद्धि गराउन प्रमुख आयुक्त थपलियाको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आज आयोगले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै आवधिक निर्वाचन भएकाले यसबारे नियमित बहस र सम्प्रेषण गराउन आग्रह गर्नुभयो ।

उहाँले संवैधानिक व्यवस्थाअनुसार विद्यमान निर्वाचन प्रणालीमा दलले नै उम्मेदवारी दिने र उसैले जित्ने तथा हार्ने कुरालाई स्थापित गर्नुपर्ने बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले जसरी पनि जित्नै पर्छ भनेर गलत हर्कत गर्ने अभ्यास स्वच्छ, निष्पक्ष र भयरहीत निर्वाचनका लागि उपयुक्त नहुने उल्लेख गर्दै गत स्थानीय तहको निर्वाचनमा मतदाता नमावली, बदर मत, मतपत्रको ढाँचा आदि विषयमा देखिएका कतिपय कमजोरीबाट यस पटकको निर्वाचनमा पाठ सिकिने जनाउनुभयो ।

उहाँले आउँदो निर्वाचनमा एकीकृत सूचना प्रवाहको संयन्त्र खडा गरिने तथा मतदानका दिन सवारी साधनको आवागमनलाई आवश्यकतानुसार खुकुलो बनाइने स्पष्ट पार्नुभयो ।

सबै निर्वाचन आयुक्त र आयोगका सचिव सहभागी कार्यक्रममा पत्रकारले सूचना व्यवस्थापन र प्रवाहको प्रणालीलाई अझ व्यवस्थित, एकीकृत र छिटो छरितो एवं आधिकारिक बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी र व्यवस्थापनबारे तथा सञ्चार विज्ञ किरण चापागाईँले गलत सूचना, दुष्प्रचार र निर्वाचनबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.