राजनीति

एमाले कमजोर भए देश कमजोर हुने अध्यक्ष ओलीको उद्घोष

‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरको नगरकोटमा नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन गर्नुभएको छ ।

चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टमा आयोजना गरेको कार्यशालाको उद्घाटन गर्दै उहाँले एमाले कमजोर भए देश कमजोर हुने बताउनुभयो । अध्यक्ष ओलीले देश सङ्कटमा गुज्रिदै गएको अवस्थामा पार्टीलाई बलियो बनाएर अगाडि जान सकेमात्रै देश बलियो हुने बताउँदै पार्टी कमजोर बनाउन खोज्ने तत्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने बताउनुभयो ।

व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउँदै पार्टीलाई बलियो बनाउन जनसङ्गठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

देश र जनताको हितमा सरकार लाग्नुपर्ने औँल्याउदै उहाँले प्रतिपक्षले खबरदारी गरिरहने बताउनुभयो । दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने सन्देश दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर र एमालेबाट शपथ लिएका दुई मन्त्रीलाई सम्मान गर्नुभयो ।

सो अवसरमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर लैजान सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेतलगायत १५० जना नेताहरूको कार्यशालामा सहभागिता रहेको छ । कार्यशाला आइतबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.