अर्थ

महामारीका बीच नेपालको अर्थतन्त्र सकारात्मक दिशामा : कारण यस्तो रहेछ

विश्वयापी महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमणका कारण विश्वकै अर्थतन्त्र डावाडोल भैरहेका बेला नेपालको अर्थतन्त्र भने सकारात्मक दिशामा रहेको दावी गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको भए पनि आर्थिक परिसूचक राम्रो रहेको बताउनुभयो ।

यसको आधार बताउँदै भन्नुभयो– उहाँले प्रतिकूलताका बावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलरमा १ दशमलव ६ अर्ब भन्दा बढी रहेको र सरकारको सञ्चित खाता घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेकाले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको छ ।

विश्व बैकका उपाध्यक्ष हार्टबिग सेफरसँग हालै भएको श्रव्य दृश्य (भर्चुअल) छलफलका क्रममा अर्थमन्त्री डा खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, विश्व बैंकले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको प्रभाव एवम् आगामी दिनमा देखिने थप जटिलता, कोरोना रोकथाममा सरकारले चालेको कदम तथा विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाका बारेमा उहाँहरूबीच छलफल भएको थियो ।

अर्थमन्त्रीले विश्व बैंकवाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गर्नुभएको थियो ।

नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यावसायिक निरन्तरता एवम रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको बताउनुभएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थमन्त्रीले बिषम परिस्थितिमा पनि विश्व बैकको सहयोगमा सञ्चालित आयोजनामा प्रगति राम्रो रहेको र नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

वित्तीय दबाबका बावजुद नेपालले विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी.) को शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैक समूहबीच लामो समयदेखि रहेको न्यानो सम्बन्धलाई जीवन्त राखिएको उहाँले बताउनु भयो । अर्थमन्त्रीले स्वास्थ्य र आर्थिक पुनरुत्थान सँगसँगै लैजानुपर्नेमा जोड दिदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेट सहायताले समेत सघाउ पुरयाएको र नीतिगत सुधारमा समेत विश्व वैंकको अनुभव र ज्ञान लाभदायी भएको जानकारी गराउनु भएको थियो ।

उहाँले विश्व बैंकसंग हालै संझौता भएको रणनीतिक सडक आयोजना हाल सम्मकै ठूलो एकल आयोजना रहेको र गत वर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना संझौता भई करिव १ अर्व डलर थप प्रतिवद्धता प्राप्त भएको बताउनुभयो । विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकामा धन्यवाद दिनुभएको थियो ।

उहाँले नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था पनि राम्रो रहेकोले कोभिड १९ को प्रभाव कम हुने वित्तिकै नेपालको अर्थतन्त्र आफ्नो लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.