राजनीति

विश्वले शान्ति प्रक्रियामा नेपालबाट धेरै कुरा सिक्न सक्छ

कुनै अन्तर्राष्ट्रिय निकाय वा बाह्य मुलुकको साथबिना १० वर्षे सशस्त्र जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्न सफल नेपालको अभ्यास विश्वकै लागि अनुकरणीय रहेको मानिन्छ ।

यस क्रममा ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपि)का उच्च अधिकारीहरुले नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न सक्ने बताएका छन् । सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर जिसिटिपिका अधिकारीहरुले नेपालबाट धेरै कुरा सिक्न चाहेको बताएका हुन् ।

भेटमा विश्व शान्ति र सहिष्णुता क्षेत्रमा काम गर्न विश्वका ९० बढि देश संलग्न जिसिटिपिका वर्तमान अध्यक्ष अहमद अल जरवानले भन्नु भयो ‘शान्ति र सहिष्णुताको संस्कार सबैले अङ्गीकार गर्नु आवश्यक छ, यसका लागि हामीले नेपालको शान्ति प्रक्रियाबाट धेरै सिक्नु छ ।’

अध्यक्ष जरवानले नेपालको शान्ति स्थापनाको राम्रो उदाहरण रहेको एवं विविधताबीच एकता कायम रहेको कुराले विश्वका धेरै देशका सांसदलाई नेपाल आउन प्रेरित गरेको बताउनुभयो ।

प्रतिनिधि मण्डलका सदस्यहरुले विश्व शान्तिका लागि संयुक्त राष्ट्रसङ्घ मार्फत शान्ति सेना पठाएर गरेको सहयोग तथा बुद्धको जन्मथलोका रुपमा विश्वभर शान्तिको सन्देश दिएको देश नेपालमा निकट भविष्यमा ग्लोबल कन्फरेन्स गर्ने इच्छा व्यक्त गरेको थियो ।

भेटमा सभामुख सापकोटाले वर्तमान विश्व परिवेशमा शान्ति र सहिष्णुताको महत्व अझ बढेर गएको बताउँदै यसका लागि सबैबाट असिमित प्रयासको खाँचो औंल्याउनु भयो ।

नेपालमा शान्ति प्रक्रियाका धेरै विषय टुङ्गिएको र केही बाँकी रहेको जानकारी गराउँदै सभामुख सापकोटाले यहाँको शान्ति स्थापनामा भएका उत्तम अभ्यासहरु विश्वका लागि महत्वपूर्ण हुन सक्ने धारणा राख्नुभयो ।

सभामुख सापकोटाले विश्व शान्ति स्थापनार्थ काम गरिरहेका संस्थाहरुबीच ऐक्यबद्धता र सहकार्य जरुरी रहेकोमा जोड दिंदै आफू नेतृत्वको सङ्घीय संसद्र सहकार्यका लागि सधैँ तयार रहेको बताउनुभयो ।

सो भेटमा जिसिटिपिका फरक फरक देशका १३ सदस्यीय प्रतिनिधि मण्डलका सदस्यहरुले लैङ्गिक समानताका क्षेत्रमा नेपालले गरेका काम उदाहरणीय रहेको बताएका थिए ।

यसैबीच नेपालको संघीय संसद्र र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा नेपालका तर्फबाट प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र जिसिटिपिका तर्फबाट जोरान इल्लियोभोस्कीले हस्ताक्षर गर्नुभएको हो । समझदारी पत्रमा विश्व शान्ति र सहिष्णुताका लागि सहकार्यका विषय समावेश छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.