सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नेपालको उत्तरी छिमेकी मुलुक चीनको बहुचर्चित प्रस्तावित भ्रमण स्थगित भएको छ।
पार्टी उच्च स्रोतका अनुसार अगस्टको दोस्रो साता हुने तय भएको भ्रमण यसअघि एक महिना पछाडि सारिएको थियो। तर सेप्टेम्बरको दोस्रो सातामा पनि भ्रमण नहुने भएपछि हाललाई कार्यक्रम अनिश्चित बनेको छ।
स्रोतका अनुसार सभापति लामिछानेको सट्टा अब रास्वपाका सांसदहरूको प्रतिनिधिमण्डल मात्र चीन भ्रमणमा जाने तयारी गरिएको छ। भ्रमण स्थगित हुनुको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन।
लामिछानेको चीन भ्रमण यसअघि उहाँको भारत भ्रमणपछि हुने तय भएको थियो। भारत भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुभएको थियो।
भारतीय पक्षबाट दिइएको सम्मान र त्यहाँ भएका भेटघाट, विशेषगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलले नेपालमा व्यापक राजनीतिक चर्चा जन्माएको थियो। सत्तारूढ दलको एक प्रमुख नेताले भारतीय शीर्ष नेतृत्वसँग गरेको भेटलाई लिएर विभिन्न राजनीतिक वृत्तमा सकारात्मकदेखि शंकासम्मका टिप्पणी भएका थिए।
त्यसपछि चीन भ्रमणको तयारीलाई पनि नेपालले दुवै छिमेकीसँगको सम्बन्धलाई कसरी सन्तुलनमा अघि बढाउँछ भन्ने दृष्टिकोणबाट चासोका साथ हेरिएको थियो। रास्वपाले भने आफ्नो विदेश सम्बन्धलाई दलगत अनुभव आदानप्रदान र आपसी सहयोग विस्तारका रूपमा प्रस्तुत गर्दै आएको छ।
चीन भ्रमण स्थगित भएसँगै अहिले रास्वपाका सांसदहरूको टोली मात्र चीन जाने तयारीमा रहेको जनाइएको छ। सभापति लामिछानेको भ्रमण कहिले हुने भन्नेबारे पार्टीले हालसम्म औपचारिक जानकारी दिएको छैन।
लामिछानेको भारत भ्रमण र त्यसपछि चीन भ्रमणको तयारीले नेपालमा विदेश नीति, प्रमुख राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्बन्ध तथा दुई छिमेकी मुलुकसँगको राजनीतिक सम्पर्कलाई लिएर नयाँ बहस सुरु भएको थियो। चीन भ्रमण स्थगित भएसँगै ती चर्चाले अझ नयाँ मोड लिने अनुमान गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्