उपत्यकाका संक्रमितको सम्पर्कमा आएका २० हजार जनाको खोजी

मुलुकको राजधानी काठमाडौं उपत्यकामा कारोना संक्रमितको संख्या बढ्दै समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने खतरा बढेपछि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ ।
यस विषयमा थप छलफल गरी निर्णयमा पुग्न आज सोमबार उपत्यका नगरपालिका फोरमको बैठक बोलाइएको छ । आइतबार बसेको उपत्यका नगरपालिका फोरमका पदाधिकारीको बैठकले निषेधाज्ञाको अवधिलाई पूर्ण सदुपयोग गरी व्यापक रूपमा कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।
बैठकमा फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सहभागी थिए।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले संघीय राजधानी समेत रहेको र अत्यन्त घनाबस्तीयुक्त उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ । त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने बताउनुभयो ।
नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले तालिका नै बनाएर कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताउँदै उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ गर्ने योजना रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्